पोखरा– मेला र महोत्सवमा मात्र खेल्न पाइने मनोरञ्जनका खेलहरु पोखरेलीहरुले अब जुनसुकै समयमा खेल्न पाउने भएका छन्। पोखराको खहरे लेकसाइडमा सुविधायुक्त फन पार्कको निर्माण भएको छ।
फन पार्क बैसाख २९ देखि सञ्चालनमा आउने बिहीबार आयोजित पत्रकार सम्मेलनमा पोखरा डिज्निल्यान्डका सञ्चालक वसन्त लिगलले जानकारी दिए। लेकसाइड क्षेत्रमा मनोरञ्जनका लागि छुट्टै पार्कको अभाव भइरहेका बेला त्यसको परिपूर्ति गर्न पार्कको निर्माण गरेको उनले बताए। पार्कको निर्माणपछि पर्यटन क्षेत्रमा पनि केही टेवा पुग्ने उनको भनाइ छ।
करिब १ करोड २५ लाख लगानीमा १५ रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिएको हो। बालबालिका तथा वयस्कका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको पार्कमा रोटेपिङ, डुङ्गा पिङ, चारतारा पिङ, ब्रेक डान्स पिङ, वाटर बल लगायतका खेल खेल्न पाइनेछ।
पार्कमा ३० जनाले रोजगार पाउने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।