उपकार मर्यो, परोपकार मर्यो
उपकार र परोपकार मात्र होइन
सरोकार पनि मर्यो
बाच्यो त केवल 'म'कार बाँच्यो
'म'कारभित्र डकार बाँच्यो।
सत्कार कुल्ची
लत्कार उठ्यो
कंसकै स्वरूपको
अहंकार उठ्यो
मिल्नु मिलाउनुमा
पहिरो गएर
फुट्नु-फुटाउनुको
संस्कार उठ्यो।
मानवता हरायो
दानवता जाग्यो
लुछ्ने चुड्नेमा
वैमनस्यता जाग्यो
छत्तीसै वर्णको
एउटा फूलबारी
टुक्रैटुक्रैमा
भाग लाग्यो।
बलिदान हार्यो
अभिमान जित्यो
सद्भावको खडेरी
राजकता जित्यो
त्याग र तपस्याको
मूल्य शून्य भो
लुट्नेको फ़ौजले
मैदान जित्यो।
मिथ्या सत्य, सत्य मिथ्या
कर्मले ठाउँ छोड्यो
कुकर्म अब्बल चुनियो
कलि अनुसारको
जन्म भयो लोकमा
कि जन्म अनुसारको
कलि युग भनियो?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।