काठमाडौं- नेकपाका केन्द्रीय सदस्य प्रभु साहले दुई अध्यक्षीय प्रणालीलाई अस्वीकार गर्न आग्रह गरेका छन्। बिहीबार प्रेस विज्ञप्तिमार्फत उनले त्यस्तो प्रणालीले देश र जनतालाई घात गर्ने बताएका छन्।
'नेतृत्व सम्बन्धी विश्वव्यापी मान्यता विपरीत नेपालमैं असफल सिद्ध भइसकेको दुई अध्यक्षीय प्रणाली जस्तो गम्भीर विषयमा छलफल नै नगरी अंगीकार गर्ने गलत निर्णयप्रति औपचारिक एवम् अनौपचारिक रूपमा पटक पटक सुझाव एवम् विमति जाहेर गर्दागर्दै पनि निषेध एवम् निरकुंशताको शैलीमा अगाडि बढाइएको विषयप्रति मेरो गम्भीर असहमति एवम् आपत्ति छ', उनको भनाइ छ।
उनले देश र जनतालाई घात गर्ने दुई अध्यक्षीय प्रणाली अस्वीकार गरी सही नेतृत्व प्रणालीको स्थापनाको लागि अनुरोध गरेका छन्।
साहले हिजो अलगअलग पार्टीको एकल अध्यक्ष भएको समयमा प्राप्त गरेको लगभग दुई तिहाईको ऐतिहासिक सफलता पार्टी एकतापछि निर्माण भएको दुई अध्यक्षीय प्रणालीमा अध्यक्षहरुबीचको आपसी टकरावले आज पार्टी क्षतविक्षत मात्र भएन, सिंगो व्यवस्था नै अस्तव्यस्त भई देश अन्यौलग्रस्त स्थितिमा भएको बताएका छन्।
'मार्क्सवादी मान्यता र लेनिनवादी संगठनात्मक सिद्धान्त विपरीत निर्माण भएको दुई अध्यक्षीय प्रणाली अवस्तुवादी र अवैज्ञानिक भएकै कारण देशले गम्भीर घात व्यहोर्नु परेको छ', उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।