काठमाडौं- प्रचण्ड-नेपाल पक्षको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू विघटित नभएको भन्दै केपी शर्मा ओलीको सरकार विघटन भएको बताएका छन्।
प्रचण्ड-नेपाल पक्षले बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजना गरेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले आफू विघटित नभएको कुरा सहजै बुझ्न सकिने भएकाले यो कुरा बुझ्न अधिकारीहरूलाई गाह्रो भएको उल्लेख गरेका हुन्।
ओलीले चालेको कदमविरूद्ध सबै राष्ट्रिय पार्टी‚ अधिवक्ता‚ पत्रकार र पूर्वन्यायाधीशले भनिरहेकाले पनि यो कदम असंवैधानिक भएको प्रष्ट भएको उनले बताएका हुन्। आफूहरू मिसनसहित एक भएको बताउँदै प्रचण्डले यो एकतालाई समाजवादी मोडेल निर्माण गर्ने एकता भएको समेत उल्लेख गरे।
साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुर्जुवा भएको लक्षित गर्दै बुर्जुवाहरू शब्दजालमा सिपालु हुने बताएका छन्।
उनले प्रधानमन्त्री ओलीले शब्दजाल वाकजालमा पारेर संसद् विघटन गरेको समेत उल्लेख गरे। विकल्प लिएर आउँछु भन्दाभन्दै पनि उनले आफूलाई ओलीले समय निदिएको उनको भनाइ छ।
'५ मिनेटमा विकल्प लिएर आउँदैछु दुई विकल्प थिए भन्दा हतारहतार भंग गरियाे। याे सामान्य कुरा छैन,' उनले भने, 'शब्दजाल, वाकजाल छ। ब्रुजुवा (ओलीलाई लक्षित गर्दै)हरू शब्दजालमा सिपालु हुन्छन्। सर्वहारा (आफूहरू)काे मन इमानदार हुन्छ।'
उनले कडा आन्दोलनमा उत्रन समेत सबैलाई आह्वान गरेका छन्। 'हामीले आन्दोलन अलि कडा गर्नुपर्नेछ। कडा आन्दोलनमा जान सकेनौं भने संविधानमा छैन भनेर पुनर्स्थापना भइहाल्छ भन्ने हुँदैन,' उनले भने, 'पहिलाे चरणको संघर्षले पुग्ला जस्ताे लागेकाे छैन। दाेस्राे चरणको चाहिन्छ। प्रतिक्रान्तिले टाउको उठाउन खाेजेकै छ।'
उनले प्रतिनिधिसभा विघटन गर्ने काम काम पनि ग्रान्ड डिजाइनमा भएको र ताजा जनादेशमा जाने भनेर अर्को जाल थापिएको समेत उल्लेख गरे। 'निर्वाचन हुन्छ र जितन्छ भन्ने नादानी हुन्छ। याे डिजाइनमा भएकाे हाे। हुँदाखाँदाकाे संसद् व्युँताउनुपर्छ। नत्र नजिर बन्छ। भविष्यमा पनि प्रधानमन्त्रीले यस्तै गर्छ,' उनको भनाइ थियो।
उनले सम्पत्ति खान आफन्तले मृत्युको प्रमाण बनाएका एक भारतीय उदाहरण दिँदै भने- 'हम जिन्दा हे। केन्द्रीय कमिटी जिउँदाे छ।'
प्रतिनिधिसभा विघटन भएको वर्तमान अवस्था २०१७ सालको जस्तो भएको समेत उनको भनाइ छ। 'आजको अवस्था समान्य जस्तै हाे भनेर साेच्नु गलत हुनेछ। २०१७ सालकाे जस्ताे हाे,' उनले भने। २०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेका थिए।
उनले ७ दशकसम्म प्राप्त उपलब्धिसमेत गुम्ने खतरा रहेको उल्लेख गरे। 'हामीले ७ दशकसम्म लडेको लडाईंबाट प्राप्त गरेका उपलब्धि अपहरण भएका छन्। हाम्रो आन्दोलन जाली र फटाहा प्रवृत्तिका विरुद्ध हो,' उनले भने, 'वैचारिक र राजनीतिक रूपमा विचलित साथीहरूसँगकाे लडाइँ हाे। याे जीवन र मृत्युको लडाइँ हाे। जस्ताेसुकै मूल्य चुकाउन अघि बढ्नुपर्छ।'
उनले आफ्नो पक्षमा ७० प्रतिशत केन्द्रीय सदस्य रहेको भन्दै आफ्नो पक्ष नै आधिकारिक भएको समेत दाबी गरे। 'हामी ७० प्रतिशत छाैं। सबै प्रमाण निर्वाचन आयोगमा पेस गरेका छौं,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।