काठमाडौं- नेकपाको केपी ओली पक्षमा खुलेका रामबहादुर थापा बादलले देशको अहिलेको स्थितिले प्रतिक्रान्तिको खतरालाई इंगित गरेको बताएका छन्।
सो पक्षको बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै बादलले भने- 'नेपालको सर्वहारा वर्गको नेतृत्वमा, नेपालको कम्युनिस्टहरुको नेतृत्वमा हामीले उपलब्धिहरु प्राप्त गर्यौं। आज यो उपलब्धि गुम्ने हो कि भन्ने, क्रान्ति फेरि प्रतिक्रान्तिमा बदलिने हो कि भन्ने असाधारण खतरा पैदा भएको छ। अहिले देशमा जुन गतिविधिहरु भइरहेका छन्, जुन स्थिति छ। अराजकता र राजनीतिक संकट हामीले देखिरहेका छौं। त्यसले प्रतिक्रान्तिको खतरालाई इंगित गरिरहेको छ।
उनले प्रतिक्रान्तिलाई कसरी रोक्ने? कसरी परास्त गर्ने? र क्रान्तिको रक्षा कसरी गर्ने? संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षमा र सुदृढ कसरी गर्ने भन्ने राजनीतिक प्रश्न आफूहरुको अगाडि रहेको बताए।
बादलले कम्युनिस्ट र सर्वहाराहरुको नेतृत्वमा नेपालमा राजतन्त्रको अन्त्य भएको बताए। 'हामीले सामन्तवादको अन्त्य गर्यौं। र जनवादी क्रान्ति मूलतः पूरा गर्यौं। लाखौं सुपत्र र सुपुत्रीहरुको योगदानबाट हामीले नेपालमा क्रान्तिकारी कदम ल्याउन सफल भयौं', उनको भनाइ छ।
बादलले प्रतिनिधि सभा विघटनलाई भने क्रान्तिकारी कदमको संज्ञा दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।