काठमाडौं- सत्तारुढ नेकपाको आन्तरिक विवाद बढ्दै पार्टी फुट्न लाग्दा त्यसको प्रभाव प्रदेश सरकारहरूमा पनि पर्ने देखिएको छ। संघीय सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै सत्तारुढ दल फुटको संघारमा छ भने पार्टी फुट्दा त्यसको स्वाभाविक प्रभाव प्रदेशहरूमा पनि देखिनेछ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका निकट नेता पृथ्वी सुब्बा गुरुङ गण्डकी प्रदेशका मुख्यमन्त्री छन्। नेकपा फुट्दा गुरुङ नेतृत्वको प्रदेश सरकारमा कति प्रभाव पर्छ भन्ने लेखाजोखा हामीले गरेका छौँ।
गण्डकी प्रदेश सभा ६० सदस्यीय छ। त्यसमा नेकपाका ३९, कांग्रेसका १५, नयाँ शक्ति नेपाल (हाल जनता समाजवादी पार्टी)का २, राष्ट्रिय जनमोर्चाका ३ र स्वतन्त्र एक सांसद छन्।
नेकपाका ३९ मध्ये आफूहरूसँग २७ सांसद रहेको मुख्यमन्त्री गुरुङ निकट नेताहरू बताउँछन्। उनीहरूका अनुसार त्यहाँ माधवकुमार नेपाल समूहका एकजना सांसद छन् भने पूर्व माओवादी खेमाबाट ११ जना छन्।
बादल पक्ष केन्द्रमा केपी ओली समूहमा रहे मुख्यमन्त्री गुरुङ सुरक्षित हुनेछन्। बादल पक्षका नेता हरि चुमान गण्डकीमा अहिले आन्तरिक मामिला तथा कानुनमन्त्री छन्। त्यसबाहेक दीपक थापा, दिलमाया गौतम र चन्द्र बुढा पनि बादल खेमाका नेता हुन्। केन्द्रमा बादल ओलीसँग रहे उनीहरूले प्रदेशमा पनि गुरुङलाई सहयोग गर्ने आँकलन गुरुङनिकट नेताहरूको छ।
बादल पक्षले साथ छाडे जनमोर्चा र स्वतन्त्र सांसदको साथ पाएमात्रै गुरुङ मुख्यमन्त्री रहन्छन्। स्वतन्त्र सांसद दिपक मनाङेले ओली पक्षलाई समर्थन गर्ने आँकलन छ भने जनमोर्चाको निर्णय कुर्न बाँकी छ।
बादल र ओली एकै ठाउँ रहेको अवस्थामा मुख्यमन्त्री गुरुङ अरुको साथ विना नै सुरक्षित हुन्छन्। बादल पक्ष बाहिरिए उनले साना दलको साथ लिनुपर्छ। 'गण्डकीमा ठूला दल होइन, साना दल निर्णायक छन्,' गुरुङ पक्षका एक नेताले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।