काठमाडौं–राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा टोपबहादुर मगरको नाम सिफारिस भएको छ। मगर सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्।
२०६८ सालमा सर्वोच्चबाट अवकाश पाएका उनी विभिन्न चर्चित मुद्दाको फैसलामा संलग्न भएका निडर न्यायाधीशको रुपमा चिनिन्छन्। अनुपराज शर्मासहितका पदाधिकारीले कात्तिक १ गते अवकाश पाएपछि आयोग रिक्त थियो। अध्यादेश जारी गरेर बसेको संवैधानिक परिषदको बैठकले आयोगको अध्यक्षमा मगरको नाम सिफारिस गरेको थियो। यसअघि पूर्वप्रधानन्यायाधीशलाई अध्यक्षको रुपमा सिफारिस गर्ने चलन थियो।
त्यस्तै सदस्यहरुमा मनोज दुवाडी, डा सूर्य ढुंगेल, लिलि बस्नेत थापा र मिहि ठाकुर सिफारिस भएका छन् । सरकारले गरेको संसद विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकाले अब उनीहरुको संसदीय सुनुवाइ हुने छैन। संसद नै बाँकी नभएको अवस्था सुनुवाइ नहुने भएपछि सरकारले जानकारीका लागि संसद सचिवालयमा पत्र भने पठाएको छ। अब उनीहरुलाई एकै पटक राष्ट्रपति विद्यादेवि भण्डारीले नियुक्ति दिँदै सपथ गराउनेछिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।