काठमाडौं–संवैधानिक कानुनविदहरुको संस्था सवैधानिक कानुन व्यवसायी मञ्चले संसद विघटन र नयाँ निर्वाचनको मिति घोषणा गर्ने कार्य जनादेशको घोर अनादर भएको टिप्पणी गरेको छ।
एक विज्ञप्ति जारी गर्दै मञ्चले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम जनादेशको घोर अनादर, संविधानमाथिको निर्लज्ज आक्रमण एवं समृद्धि, स्थायित्व र दिगो शान्तिको आमचाहनामाथिको वज्रपात भएको टिप्पणी गरेको छ।
‘प्रधानमन्त्री खड्गप्रसाद ओलीले अनायासै प्रतिनिधिसभा विघटन गर्न आजै सिफारिस गर्ने र उक्त विघटनको सिफारिसको औचित्य, आवश्यकता र वैधताको विल्कुलै विचारै नगरी सो सिफारिसबमोजिम राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरि नयाँ निर्वाचनको मिति तोक्ने कार्यप्रति संवैधानिक कानुन व्यवसायी मञ्च घोर आपत्ती प्रकट गर्दछ’ मञ्चले भनेको छ ‘सत्तासिन राजनीतिक दलभित्रको निकृष्ट सत्तासंघर्षकाबीच आफूलाई निर्वाचित गर्ने जनप्रतिनिधिसभाप्रतिको उत्तरदायित्वलाई किन्चित ख्याल नगरी गैर–संवैधानिक रुपमा गरिएको प्रतिनिधिसभाको असामयिक विघटनलाई मञ्चले संविधानवादमाथिकै निर्घात आक्रमणको रुपमा लिएको छ ।’
साथै यो विघटनका कारण जनादेशको घोर अनादर हुनुका अतिरिक्त समृद्धि, स्थायित्व र दिगो शान्तिको आमचाहनामाथि वज्रपात भएको छ भन्ने ठहर रहेको मञ्चले जनाएको छ।
संविधानवादका मान्यताहरुलाई शिघ्र पुनःस्थापित गरी संविधानको सर्वोपरिताको आधारमा शासन व्यबस्था सञ्चालन हुने कुरालाई सुनिश्चितगर्नेतर्फ सम्बन्धित सबैले आफ्नो ठाउँवाट भूमिका खेल्न मञ्चले आग्रह गरेको छ। मञ्चका तर्फवाट अध्यक्ष राजु चापागाईले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।