खोटाङ- मध्यपहाडी लोकमार्गमा पर्ने पूर्वी पहाडी जिल्ला खोटाङ र ओखलढुंगाबीच पहिलो पटक सिधा यातायात सेवा सुरु भएको छ।
सीधा यातायात सेवा सुरु भएपछि दुई जिल्ला आवतजावत गर्दा बीचमा पर्ने हिलेपानीमा ओर्लेर घन्टौंसम्म अर्को बस कुर्नुपर्ने बाध्यता हटेको छ।
दिक्तेलबजारदेखि दैनिक बिहान ६ बजे र ओखलढुंगाबाट दैनिक बिहान साँढे ६ बजे बस छुट्ने व्यवस्था मिलाइएको खोटाङ यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङ्माङले जनाए।
महासचिव हिङमाङका अनुसार अहिलेका लागि प्रतिव्यक्ति ८ सय भाडा लिएर बस सञ्चालन गरिएको छ। दुई जिल्लाको नाकामा पर्ने दूधकोशीमा पक्की पुल सञ्चालनमा आइसकेको कारण सिधा यातायात सेवा प्रभावकारी र दीर्घकालीन हुने व्यवसायीको ठम्याइ छ।
यो सँगै ओखलढुंगासम्म चल्ने बसमा दिक्तेलबाट हुर्लुङ, नुनथला, महुरे, बिजुले, अर्खौले, हलेसी, जयरामघाटसम्म स्थानीयवासीलाई समेत यात्रा गर्न सहज हुनेछ। अहिले दिक्तेलबाट मात्र जिप तथा बस गरी दैनिक १७ वटा बाहिरी जिल्ला छुट्ने गरेको छ। दिक्तेल–काठमाडौं, दिक्तेल–धरान र दिक्तेल–विराटनगर सिधा यातायात सेवा सञ्चालनमा रहेको यातायात व्यवसायी संघले जनाएको छ।
निकट समयमै दिक्तेल–सोलुखुम्बु, दिक्तेल–काकरभिट्टासम्म सीधा यातायात सेवा सञ्चालन हुने महासचिव हिङमाङले बताए।
११ वर्षअघि नेपाली सेनाको हेलिकोप्टरबाट झुन्ड्याएर जिल्लामा दुई मिनी ट्रक भित्र्याइएको थियो। जिल्लामा अहिले ३ सयभन्दा बढी सानाठूला सवारीसाधन सञ्चालनमा छन् । दुई नगरपालिका र आठ गाउँपालिकासहित दस स्थानीय तह रहेको जिल्लाका हरेक स्थानीय तहमा हिउँदभर यातायात सेवा सञ्चालन हुन्छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।