मोरङ- कोरोना महामारीका कारण विगत नौ महिनादेखि बन्द रहेका विराटनगर महानगरपालिकाका विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन्। विराटनगर महानगरपालिकाले गत मंसिर २१ गते गरेको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका हुन्।
महानगरले सङ्क्रमणको जोखिम, विद्यार्थी सङ्ख्या तथा उपलब्ध भौतिक पूर्वाधारअनुसार विद्यालय सञ्चालन गर्न सात बुँदे विकल्प दिएको थियो।
सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने, अलगअलग समयमा अलगअलग कक्षा वा तह सञ्चालन गर्ने, कक्षालाई पहिले र दोस्रो कक्षापछि सुरु गर्ने, कक्षा सञ्चालनको घण्टी छोट्याउने, पालैपालो कक्षा सञ्चालन गर्ने, कक्षाका केही विद्यार्थी कुनै दिन वा सिफ्ट र बाँकी विद्यार्थीलाई अर्को दिन वा सिफ्टमा सञ्चालन गर्नेगरी पालैपालो कक्षा सञ्चालन गर्ने र सातामा केही दिनमात्र कक्षा सञ्चालन गर्नेलगायत कार्यविधि बनाइएको नगर शिक्षा अधिकारी दुर्गा खतिवडाले जानकारी दिए।
विद्यालय स्वास्थ्य सुरक्षा मापदण्डअनुसार सञ्चालन गर्नुपर्नेछ। मोरङमा रहेका १७ स्थानीय तहमध्ये विराटनगर बाहेकका अन्य स्थानमा भने विद्यालय सञ्चालन भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।