काठमाडौं- जनता समाजवादी पार्टीले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले संविधानको भावना र मर्ममाथि प्रहार गरेको बताएको छ।
'यसले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको सर्वोच्च निकाय जनप्रतिनिधि संस्था संघीय व्यवस्थापिका संसद्लाई नै उपेक्षा गरी विधिको शासन विपरीत षडयन्त्रपूर्वक ढंगले सर्वसत्तावादी तथा आफ्नो स्वेच्छाचारी शासन चलाउन र संवैधानिक निकायहरुलाई नियन्त्रणमा लिन संविधानको भावना र मर्ममाथि नै प्रहार गरेको छ', बुधबार जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
अध्यादेश ल्याउने सरकारको कदमले संसदको सर्वोच्चता रहने संसदीय लोकतान्त्रिक प्रणालीलाई नै चुनौती दिनुका साथै संविधान र लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पारी मुलुकलाई राजनीतिक द्वन्द्वको भूमरीतर्फ धकेल्ने कार्य गरेको जसपाको ठहर छ।
'सरकारको यस्तो गैर-लोकतान्त्रिक एवम् स्वेच्छाचारी कार्यको जसपा, नेपाल घोर भर्त्सना एवम् विरोध गर्दछ', विज्ञप्तिमा भनिएको छ, 'सरकारले अध्यादेश तुरुन्त फिर्ता लिई संघीय संसदको हिउँदे अधिवेशन यथाशिघ्र बोलाउनु पर्दछ।'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।