काठमाडौं- स्थानीय तहमा नेपाली कांग्रेस कमजोर हुनुमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाको असक्षम नेतृत्व जिम्मेवार भएको नेता रामचन्द्र पौडेल पक्षधरले निष्कर्ष निकालेको छ।
पौडेल पक्षको मंगलबार अनामनगर बसेको भेलाले स्थानीय तहको निर्वाचन समीक्षा गर्दै यस्तो निष्कर्ष निकालेको हो।
पौडेल पक्षले असोज १८ भित्र केन्द्रीय समिति बैठक बोलाएर स्थानीय निर्वाचनको समीक्षा गर्न र आसन्न निर्वाचनबारे नयाँ राणनीति बनाउन माग गरेको छ । प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवार तय गर्नुअघि केन्द्रीय समिति बैठक बोलाउन पौडेल पक्षले माग गरेको हो।
नेतृत्वको असक्षमताका कारण स्थानीय निर्वाचनमा पार्टी दोस्रो हुनुपरेको पौडेल पक्षको आरोप छ।
त्यसको सम्पूर्ण जिम्मेवारी नेतृत्वले लिनुपर्ने निष्कर्ष भेलाले निकालेको पौडेल पक्षका एक नेताले बताए । ‘नेतृत्वका कारण पार्टी स्थानीय निर्वाचनमा दोस्रो हुन पुग्यो। त्यसको समीक्षा गर्दै नेतृत्वले जिम्मेवारी लिनुपर्छ’, उनले भने, ‘सभापति देउवाले एकलौटी ढंगले टिकट वितरण गर्दा स्थानीय चुनावमा पार्टी दोस्रो हुन पुगेको हो।’
निर्वाचनमा योग्य र सक्षम कार्यकर्ताभन्दा आफू निकट र पैसा बुझाउनेलाई टिकट वितरण गरेका कारण जनताले भोट नदिएको भेलाको निष्कर्ष छ।
‘नेतृत्वले आफ्नो अक्षमता अब स्वीकार गर्नुपर्छ कि पर्दैन भन्ने आजको सवाल हो,’ पौडेल निकट एक नेताले भने, ‘राम्रोलाई भन्दा हाम्रोलाई मात्र अघि सारेपछि त्यसको जिम्मेवारी उहाँ (सभापति) ले नै लिनुपर्छ।’
स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले २ सय ९४ स्थानमा जित हात पारेको छ भने कांग्रेसले २ सय २६ स्थान जितेको छ। नेपाली कांग्रेसले काठमाडौं, पोखरा, चितवन जस्ता महानगर र जनकपुर, इटहरी, धरान जस्ता उपमहानगर गुमाएको छ भने तेस्रो चरणमा भएको निर्वाचनमा विरगञ्जमा पछाडि परेको छ। दोस्रो संविधानसभा निर्वाचनमा पहिलो पार्टी भएको कांग्रेसले स्थानीय निर्वाचनमा तुलनात्मक रुपमा नतिजा ल्याउन नसकेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ।
त्यस्तै, पौडेल पक्षले प्रदेश र केन्द्रको निर्वाचन तयारीमा पार्टी तत्काल जुट्नुपर्ने ठहर गर्दै संसदीय समिति गठन गर्नुपर्ने माग गरेको छ। उक्त समितिले नै प्रदेश र केन्द्रको टिकट वितरण गर्नुपर्ने भन्दै पौडेल पक्षले त्यसप्रति सभापतिले चासो नदेखाएको आरोप लगाएको छ।
‘संसदीय समिति मार्फत केन्द्र र प्रदेशको उम्मेदवार छनोट गर्ने विषयमा सभापति उदासीन देखिनुभएको छ,’ पौडेल निकट एक केन्द्रीय नेताले भने, ‘समिति गठन नगरी टिकट वितरण गर्ने कुरा हामीलाई मान्य छैन । तत्काल समिति गठन हुनुपर्छ।’
तर, कांग्रेसले प्रदेश र केन्द्रको उम्मेदवार छनोटका लागि १७ गतेभित्र केन्द्रमा नाम सिफारिस गर्न जिल्ला समितिहरुलाई परिपत्र गरिसकेको अवस्थामा पौडेल पक्षले यस्तो माग गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।