काठमाडौं- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले संवैधानिक परिषद्को बैठकमा संवैधानिक निकायको रिक्तताबारे छलफल भएको तर निर्णय भने नभएको बताएका छन्। संवैधानिक परिषद्को बैठकबाट बाहिरिएपछि नेपाल लाइभसँग कुराकानी गर्दै अध्यक्ष तिम्सिनाले यस्तो जानकारी दिएका हुन्।
'आज पहिलाे छलफल गरियाे। संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिबारे छलफल भयाे। फेरि अर्काे बैठक बसेर नियुक्ति हुन्छ,' अध्यक्ष तिम्सिनाले भने।
करिब अढाई घण्टा परिषद्को बैठकमा छलफल भएको थियो। बैठकमा प्रधानमन्त्री ओलीसहित राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा सहभागी थिए।
संवैधानिक परिषद्को बैठकलाई नै दृष्टिगत गरी नयाँ अध्यादेश ल्याइएको थियो। मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७' जारी गरेकी थिइन्।
यसअघि परिषद्को बैठकमा प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्ष दलका नेता गरी ६ जना सहभागी हुने व्यवस्था थियो। जसमा ५ सदस्य उपस्थित भएपछि मात्रै निर्णय गर्न पाउने व्यवस्था थियो। तर त्यस व्यवस्थालाई उल्टाउँदै तीन सदस्य उपस्थित भए मात्रै पनि नियुक्त गर्न सक्ने व्यवस्था अध्यादेशमा गरिएको छ।
मंगलबार बिहान बोलाइएको परिषद बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि कोरम नपुगी बैठक स्थगित भएको थियो। बैठक स्थगित भएपछि मन्त्रिपरिषद्को सिफारिसमा नयाँ अध्यादेश ल्याएर तीन सदस्य मात्रै उपस्थित भएपनि निर्णय गर्न पाउने व्यवस्था गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।