रसुवा– गुणस्तर तथा नापतौल विभाग बालाजुले रसुवाको प्रमुख व्यापारिक केन्द्रका पसलहरुमा नापतौलको अवस्थाबारे अनुगमन सुरु गरेको छ।
अनुगमनका लागि विभागको तीन सदस्सीय टोली मंगलबार सदरमुकाम धुन्चे आइपुगेर जाँच सुरु गरेको छ। यातायातको पहुँच पुगेका बजार क्षेत्रमा कार्यालयले अनुमगन सुरु गरेको विभागका सहायक निरीक्षक गोविन्द पहारीले बताए।
‘दुई/दुई वर्षमा हामी अनुगमनका लागि आउने गर्छौँ, त्यसै अन्तर्गत यस पटक पनि रसुवा आएका हौं।’
जिल्लाको कालिका र गोसाइँकुण्ड गाउँपालिकाका बजारक्षेत्रमा अनुगमन गर्ने टोलीले जनाएको छ। गाउँ–गाउँमा पुगेर अनुगमन गर्नुपर्ने भए पनि स्रोत–साधनको अभावमा कठिनाइ भएको सहायक निरीक्षक पहारीले बताए।
उनले भने, ‘स्रोत–साधन भए हामी गाउँगाउँका बजारहरुमा जान सक्थ्यौं। अर्को पटक प्रयास गछौँ।’
टोलीले जिल्लाको प्रमुख व्यापारिक केन्द्रका बजारमा सञ्चालनमा रहेका ढक, डिजिटल तराजु, मेकानिकल तराजुको चेकजाँच गर्नेछ।
गुणस्तर तथा नापतौल विभागले ९ वटा जिल्लामा हरेक दुई वर्षमा नापतौलबारे अनुगमन गर्ने गरेको छ। साविकको बागमती अञ्चलको ८ वटा र जनकपुर अञ्चलको दोलखामा अनुगमन गर्दै आएको सहायक निरीक्षक पहारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।