काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भूकम्पबाट प्रभावित बालबालिकालाई सिकाइ वातावरण सुनिश्चित गर्ने सरकारी प्रतिबद्धता पूरा हुन नसकेको बताउँदै राष्ट्र संघको नेपालस्थित निकायहरुसँग सहयोगको लागि आग्रह गरेका छन्।
नेपालस्थित राष्ट्र संघका आवासीय संयोजक भैंलरी जुलियान्डसँग मन्त्रालयमा भएको भेटमा मन्त्री पोखरेलले नेपालस्थित राष्ट्रसंघीय निकायहरुबाट पुनःनिर्माणमा हुँदै आएको सहयोगमा वृद्धि भए उक्त प्रतिबद्धता पूरा गर्न सहज हुने बताए।
मन्त्री पोखरेलले शिक्षा क्षेत्रको विकासका लागि अपनाइएको क्षेत्रगत प्रणालीको संयोजन र कार्यान्वयनमा युनिसेफको महत्वपूर्ण भूमिका रहेको समेत उल्लेख गरे। उनले युनिसेफले ४ वर्षदेखि फोकल फोकल प्वाइन्टका रुपमा गरेको समन्वयकारी भूमिकाको प्रसंसा समेत गरे।
सहस्राब्दी विकास लक्ष्य हासिल गर्न, सबैका लागि शिक्षा सुनिश्चित गर्नेदेखि दिगो विकासको लक्ष्य २०३० हासिल गर्ने प्रयोजनका लागि राष्ट्र संघको सहयोग र प्रतिबद्धता सराहनीय भएको भन्दै मन्त्री पोखरेलले आभार प्रकट गरे।
भूकम्पपछिको पुनःनिर्माण कार्यमा नेपालस्थित राष्ट्र संघको विशेष सहयोगको प्रशंसा गर्दै मन्त्री पोखरेलले खाद्य संकट रहेका विभिन्न १० जिल्लामा सञ्चालित विश्व खाद्य कार्यक्रमले बालबालिकाको पोषण र शिक्षामा विशेष सहयोग पुगेको बताए।
मन्त्री पोखरेलसँगको भेटमा जुलियान्डले नेपाल सरकारको प्राथमिकता अनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले शिक्षामन्त्रीले ल्याएको मार्गचित्रलाई कार्यान्वयन गर्न सहयोग गर्ने बताउँदै दाताहरुलाई समन्वय गर्न राष्ट्र संघ तयार रहेको समेत उल्लेख गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।