दाङ- नेकपाभित्र पूर्वमाओवादी नेताहरु दाङ केन्द्रित भएका छन्। पार्टी केन्द्रीय सदस्य हेमराज शर्मा र दामा शर्माकी आमा कुन्दादेवी शर्माको शोकसभामा सहभागी हुन नेताहरू शनिबार बेलुका दाङ पुगेका हुन्।
शर्माको श्रदाञ्जलीसभामा सहभागी हुन पूर्व सभामुख कृष्णबहादुर महरा, स्थायी कमिटी सदस्य वर्षमान पुन र जनार्दन शर्मा दाङ पुगेका छन्। यस्तै केन्द्रीय सदस्यमा जीवन गौतम, निर्मल आर्चाय, इन्द्रजित थारु, जेपी शर्मा ‘अपार’, ओन्सरी घर्ती, जयपुरी घर्ती, लुम्बिनी प्रदेशका सभामुख पूर्ण घर्तीलगायत जिल्लाका नेताहरु पुगेका हुन्।
एमाले समूहबाट केन्द्रीय सदस्य मेटमणि चौधरीसहित जिल्ला तहका नेताहरु मात्रै सहभागी भएका थिए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला भएपनि गएनन्। अध्यक्ष केपी ओली समूहका जिल्लास्तरका नेता सहभागी भएपनि शीर्ष नेता भने उपस्थित भएनन्।
शोकसभामा बोल्दै पूर्व सभामुख महराले पार्टी विभाजन गर्न देशी विदेशी शक्तिहरु लागि परेको बताए। ‘ठूलो मेहनतले दुई ठूला कम्युनिस्ट पार्टी एक भए,’ महराले भने, ‘विवाद हुँदाबित्तिकै पार्टी विभाजन गर्न देशीविदेशी शक्तिहरु सक्रिय भएका छन्।’
पार्टी विभाजन नगरी विवाद समाधानको उपाए खोजिने महराले दाबी गरे। यस्तै पार्टी स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टी विधि पद्धतिभन्दा माथि व्यक्ति हुन नसक्ने चेतावनी दिएका थिए। पार्टी अध्यक्ष केपी ओलीप्रति संकेत गर्दैै शर्माले पार्टी चलाउन विधि पद्यती स्थापित गर्नुपर्ने बताए।
पार्टीमा भईरहेको विवाद पद प्रतिष्ठा पाउँनका लागि नभई विधि स्थापित गर्न सघर्ष भईरहेको शर्माले बताए। यस्तै स्थायी कमिटी सदस्य तथा ऊर्जा, जलस्रोत तथा सिचाई वर्षमान पुनले सरकार पार्टीलाई तालमेल मिलाएर जानुपर्ने बताएका थिए। पार्टीमा भइरहेको विवाद सहमतिबाटै समाधान खोजिने पुनले विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।