काठमाडौं– सरकारले तीलगंगा आँखा प्रतिष्ठानलाई १० करोड अनुदान दिएको छ। ‘नेपाल आँखा कार्यक्रम’ले उत्पादन गर्दै आएको मोतिया विन्दुको शल्यक्रियापछि राखिने इन्ट्राअकुलर लेन्स उत्पादन क्षमता अभिवृद्धि गर्न उद्योग मन्त्रालयले उक्त रकम उपलब्ध गराएको हो।
उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्री मातृकाप्रसाद यादवले मंगलबार प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्रमुख प्राडा सन्दुक रुइतलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
प्रतिष्ठानले वार्षिक ४ देखि ५ लाखसम्म उत्पादन गर्दै आएको छ। प्रतिष्ठानले विदेशमा विभिन्न ४ प्रकारका लेन्स वार्षिक २ लाख निर्यात गर्दै आएको प्रतिष्ठानका लेन्स व्यवस्थापक नवीन अधिकारीले बताए। प्रतिष्ठानले लेन्सलाई विश्वको ३५ देशमा निर्यात गर्दै आएको छ।
लेन्सको मुख्य निर्यात चीन, थाइल्यान्ड, भेदनाम, पाकिस्तान लगायतका देशमा निर्यात हुने अधिकारीले बताए। करिब एक वर्षअघि तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले अस्पताललाई उक्त रकम दिने घोषणा गरेका थिए। चालू आर्थिक वर्षको बजेटबाट आँखा प्रतिष्ठानलाई रकम उपलब्ध गराउने निर्णय तत्कालीन मन्त्री जोशीले गरेका थिए। मेसिन खरिदका लागि सरकारले उक्त रकम उपलब्ध गराएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।