राजविराज– जनकपुर आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सप्तरीवासीले दूतावास मार्फत सञ्चालित योजना पुरा गराउन ध्यानाकर्षण पत्र बुझाउने भएका छन्।
नागरिक अभिनन्दन व्यवस्थापन समन्वय समिति सप्तरीले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी स्वागत तथा अभिनन्दन गर्नुका साथै ध्यानाकर्षण पत्र बुझाउने जानकारी गरायो।
समितिका संयोजक एवं जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले प्रदेश सरकारको समन्वयमा मोदीलाई सप्तरीवासीले पनि स्वागत तथा अभिनन्दन गर्ने बताउँदै त्यसको तयारी पूरा भएको जानकारी दिए।
सप्तरीका विकासका विभिन्न मुद्दालाई समेटेर तयार पारिएको ध्यानाकर्षण पत्र प्रदेश सरकारमार्फत मोदीलाई बुझाउने समितिको तयारी छ। ध्यानाकर्षण पत्र मार्फत भारतीय सहयोगमा सञ्चालित अधुरा योजनाहरु छिटो सम्पन्न गर्न, भारतको निर्मलीदेखी सीमावर्ती न्योरसम्म रेल–वे हेड निर्माण, जीर्ण बन्दै गएको कोसी ब्यारेजको मर्मत÷सम्भार, खाँडो नदी नियन्त्रण, दसगजा क्षेत्रको विवाद समाधान, कोसी पीडितलाई समयसापेक्ष राहत र मुआब्जाको विषयलाई समावेश गरिएको छ।
यसैगरी, छिन्नमस्ता भगवती मन्दिर र कंकालिनी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न र कृषियोग्य जमिनमा सिँचाइका लागि कोसी–चतरा हाइ ड्याम निर्माणमा सहयोग गर्न सहयोगका लागि ध्यानाकर्षण पत्र मार्फत अनुरोध गर्न लागिएको जिसस प्रमुख यादवले बताए।
पत्रकार सम्मेलनमा सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेय तथा सुरक्षा निकायका प्रमुखहरु, पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, नागरिक सञ्जालका अध्यक्ष सुखराम यादव लगायत नागरिक 8का व्यक्तिहरुको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।