काठमाडौं–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ सालको परिवर्तनपछि मूल्यमान्यताको राजनीति अन्त्य भएको बताएका छन्।
राजनीतिलाई सेवाभावले गरिनुपर्नेमा कमाउ पेसा बनेको टिप्पणी गर्दै उनले अहिले मूल्यमान्यताभन्दा पनि पैसा र शक्तिको प्रयोग हुनु निकै दुःखद रहेको बताए। यहीकारण जनतामा निराशा छाएको उनको भनाइ छ।
अहिले सरकार संविधान र संघियताको मर्मविपरीत हिँडेको समेत उनले बताए। काठमाडौं ३१ का इकाई अध्यक्ष उज्ज्वल कोइरालाको शोकसभामा बिहीबार बोल्दै नेता सिंहले सरकारको बोलाई र व्यवहार पनि संविधान र संघीयताअनुकूल नभएको बताए।
सुशासन र समृद्धिको गफ दिए पनि सरकार त्यसको उल्टो बाटोमा हिँडेको उल्लेख गर्दै उनले प्रमुख प्रतिपक्षी दल कांग्रेसको भूमिकाबाट पनि जनता आश्वस्त बन्न नसकेको स्वीकार गरे। उनले १३ ओै महाधिवेशनपछि कांग्रेस कमजोर भएको टिप्पणी गरे। १४ औं महाधिवेशन स्वच्छ र निष्पक्ष हुनुपर्ने भन्दै नेता सिंहले इमान्दार र राजनीतिक धर्म नछाड्ने नेतृत्व पार्टीमा आवश्यक रहेकोमा जोड दिए। समयमै महाधिवेशन गर्दै कांग्रेसलाई भरपर्दो पार्टी बनाउनुपर्ने उनको भनाइ थियो।
कार्यक्रम कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, काठमाडौं सभापति सबुज बानियालगायतले बोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।