काठमाडौं- सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ। नापी विभागका तत्कालीन प्रमुख अधिकृत (हालका उपसचिव) खिमलाल गौतमको नेतृत्वमा अधिकृत रवीन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धितालको टोलीले सगरमाथाको उचाइ नापेको हो। टोलीलाई छिरिङ जाङ्बु शेर्पाको टोलीले गाइड गरेको थियो।
सगरमाथाको उचाइ मापन परम्पारगत विधि (समतल नापी) तथा आधुनिक विधि (जिएनएसएस) र स्थलगत भूआकर्षण सर्वेक्षणजस्ता विधि अवलम्बन गरिएको विभागले जनाएको छ। मापन सुरु गर्नुपूर्व विभागले दुई वर्षअघि भारत, चीन, अमेरिका, इटलीलगायत देशका वैज्ञानिकलाई अन्तरराष्ट्रिय गोष्ठीमा डाकेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको थियो र विज्ञकै सुझावका आधारमा कार्यविधि तयार गरिएको थियो।
सगरमाथाको उचाइ नाप्न तीन वटा विधि ‘डाइरेक्ट मिजरमेन्ट’ अन्तर्गत प्रत्यक्षरुपमा अगाडि/पछाडि गरेर चुचुरोसम्मको उचाइ नापिएको छ। त्यस्तै, ‘ट्रेंगुलेसन’ विधिबाट पनि उचाइ नापिएको छ। यसअनुसार निश्चित बिन्दुलाई आधार बनाएर त्यसको कोण पत्ता लगाउने र सोही आधारमा क्रमशः अन्य बिन्दुको कोण बनाउँदै उचाइ मापन गरिएको हो। तेस्रो विधि हो, गुरुत्वलाई आधार बनाउने। जिपिएस प्रणालीबाट पनि उचाइ मापन हुन्छ। सन् २००५ मा चीनले यही विधिबाट सगरमाथाको उचाइ नापेको थियो।
यसअघि सन् १९५४ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी ८,८४८ मिटर भएको निष्कर्ष निकालेको थियो। त्यसपछि विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेको भएपनि त्यसले आधिकारिक मान्यता भने पाएको थिएन।
सन् १९५४ मा भारत र सन् १९७५ चीनले सगरमाथाको उचाइ मापन गरेको थियो। त्यसैगरी सन् १९८७, सन् १९९२ र सन् २००४ मा इटालीले तथा सन् १९८९ मा अमेरिकाले मापन गरेको थियो। त्यस्तै सन् २००५ मा पुनः चीन र सन् २०१० मा इटालीले सगरमाथाको उचाइ मापन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।