काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मोरङ मिक्लाजुङ गाउँपालिका-१ बर्खेका ५२ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मा लिएको छ। मंगलबार नेकपाका मेची कोशी ब्युरो इन्चार्ज प्रताले एक विज्ञप्ति जारी गर्दै शिक्षक श्रेष्ठको हत्याको जिम्मा लिएका हुन्।
मेची कोशी ब्युरोको बैठक चलिरहेका बेला प्रहरी बोलाएर दमन गरेको भन्दै उनको हत्या गरिएको प्रतापले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पार्टीको बैठकका क्रममा २०७६ साल फागुन २६ गते प्रहरीलाई सूचना दिएकाले कारबाही गरेको बताइएको छ। आफ्नो पार्टीका नेता-कार्यकर्ताहरू र पार्टीविरोधी गतिविधि गरेको समेत विप्लव नेकपाको भनाइ छ।
सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको शव घाँटी रेटी मंगलबार बिहान हत्या भएको थियो। बिहान करिब सवा ७ बजे ५ जनाको समूहका आएका अपरिचित व्यक्तिहरुले प्रधानाध्यापक श्रेष्ठलाई अपहरण गरी लगेका थिए।
अपहरण गरी मिक्लाजुङ गाउँपालिका–१ बर्खे गाउँस्थित जंगलतर्फ लगेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनको शव भेटेको थियो।
बर्खे गाउँदेखि करिब ६ सय मिटर टाढा जंगलमा दुवै हात बाँधी अगाडिबाट घाँटी रेटेर हत्या भएको अवस्थामा उनको शव फेला पारेको थियो।
घटनामा संलग्न व्यक्तिहरुको विभिन्न स्थानहरुमा खोजी गर्नुका साथै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।