काठमाडौं- उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र सात लाख क्षतिपुर्तिको फैसला सदर गरेको छ। काठमाडौं जिल्ला अदालतले २०७६ कात्तिक २७ गते गरेको फैसला सदर हुने निर्णय सोमबार गरेको हो।
उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश किरण पौडेलको इजलाशले जिल्ला अदालतको फैसला मिलेको देखिएकाले सदर गर्ने फैसला सुनाएको हो। २०७५ सालमा एक युवतीलाई साथीको रुपमा होटलमा लगेर बलात्कार गरेको र पछि मेलमिलापबाट घटना मिलाउने खोजेको अवस्थामा घटना सार्वजनिक भएको थियो।
जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको इजालासले २०७६ कात्तिक २१ गते मुख्य अभियुक्त रामेछापका शैलेस कार्कीलाई पाँच वर्ष २ महिना कैद हुने र पीडित युवतीलाई सात लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।
घटनामा संलग्न अन्य तीन जना अभियुक्तहरूलाई १४ महिनाको कैद सुनाइएको थियो।
जिल्ला अदालतको फैसलाविरुद्ध २०७७ भदौ २५ गते उच्च अदालतमा पुनरावेदन दर्ता भएको थियो। उक्त मुद्दामा फैसला सुनाउँदै उच्चले जिल्लाकै फैसला सदर गरेको हो।
के थियो घटना?
२०७४ माघ ७ गते दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा शैलेश कार्की, विकास गौतम, दिपक श्रेष्ठ र रवी पौडेललेले १८ वर्षे एक युवतीलाई सामूहिक बलात्कार गरेका थिए।
पीडित युवतीले माघ ८ गते प्रहरी वृत्त दरबारमार्गमा आरोपित ४ जनाले आफूलाई बलात्कार गरेको र सोही बेला नग्न तस्बिर तथा भिडियोसमेत खिचेर राखेको भन्दै उजुरी गरेकी थिइन्।
पीडित युवतीले आफू कामबाट घर फर्कदै गर्दा आरोपी कार्कीले फोन गरेर घर पुर्याउने शर्तमा बोलाएका र होटलमा लगेर सामूहिक बलात्कार गरेको जाहेरी दिएकी थिइन्। कार्कीले मदिरा खुवाएर घर जान नदिएर होटल लगि साथीलाई समेत साथमा लिएर बलात्कार गरेको दावी महिलाले गरेकी थिइन्।
गत माघ ७ गते राती आफ्नो केटा साथीले बोलाएपछि ल्याण्डमार्क होटल पुगेकी ती युवती लाई शैलेश कार्की सहित विकास गौतम, रवि पौडेल र दिपक श्रेष्ठले सामुहिक बलात्कार गरेको प्रहरीको अभियोगपत्रमा उल्लेख छ।
रामेछापको दुरागाउँ स्थायी भर भएका कार्कीले ती युवतीलाई फेसबुकमार्फत् साथी बनाएर ल्याण्डमार्क होटलमा भेट्न बोलाएर रातभर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
बलात्कारको उजुरी दर्ता भएसँगै फरार भएका कार्कीलाई दरबारमार्गबाट प्रहरीले २०७४ चैत ६ गते नियन्त्रणमा लिएको थियो। युवतीकै प्रेमी शैलेशसहित अन्य ४ जनाले युवतीमाथि सामूहि बलात्कार गरेको घटना प्रहरीकै मिलेमतोमा टुंग्याउन खोजिको भन्दै तत्कालीन समयमा विवादित भएको थियो। सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि यो घटना निकै विवादित भएको थियो।
शुरुमा घटनामा संलग्न भनिएकामध्ये रवी पौडेल, विकास गौतम र दिपक श्रेष्ठ फरार थिए। उनीहरुलाई फरार अभियुक्तको सूचीमा राखेर काठमाडौं जिल्ला अदालतमा मुद्दा प्रक्रिया अगाडि बढेको थियो। हाल थुनामा रहेका कार्की र सरकारी पक्ष दुवै जिल्ला अदालतको फैसला विरुद्ध उच्च अदालत पुगेका थिए। उच्चले जिल्लाको फैसला सदर गरेकाले अव सर्वोच्च जान सक्ने विकल्पमात्र अभियुक्तसँग बाँकी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।