काठमाडौं- अनधिकृत व्यापार नियन्त्रणका लागि व्यापार, पारवाहन तथा सहकार्यका विषयमा नेपाल-भारत अन्तरसरकारी समितिको बैठकमा छलफल भएको छ।
नेपाल र भारतका वाणिज्य सचिवको अध्यक्षतामा भिडियो कन्फेरेन्समार्फत बैठक सोमबार भएको हो। बैठकमा व्यापार एवम् वाणिज्य क्षेत्रका प्रमुख एजेण्डामा भएका प्रगतिबारे समिक्षा भएको भारतीय दूतावासले जनाएको छ।
व्यापार तथा पारवाहन सन्धिको बृहत समिक्षा, रेलसेवा सम्झौतामा संशोधन, लगानी प्रवर्द्धनका लागि भएका पहल तथा प्रयास, संयुक्त बिजनेस फोरमको गठन, दुवै पक्षबीच व्यापार पूर्वाधारको विकास तथा स्तरमा सामन्जस्यता कायम गर्नेलगायतका विषयमा छलफल भएको अधिकारीहरुले जनाएका छन्। बैठकले व्यापार तथा वाणिज्य सम्बन्ध तथा सम्पर्कलाई अझ सुदृढ बनाउन सरकारी स्तरमा गर्नुपर्ने प्रयासकाबारे कुराकानी भएको जनाइएको छ।
बैठकमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रासँगसँगै भारत सरकारका वाणिज्य मन्त्रालयका वाणिज्य सचिव अनुप वाधवा र नेपालको तर्फबाट वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याललगायतको सहभागिता थियो।
आइजिसीलाई दुई देशबीच व्यापार तथा लगानीलाई प्रवर्धन गर्ने प्रमुख द्धिपक्षीय संयन्त्रको रुपमा रहेको छ।
आइसिजी बैठकको तयारीका लागि यही मंसीर १८ देखि १९ सम्म अन्तर सरकारी उपसमितिको सहसचिव स्तरको बैठक बसेको थियो।
नेपालको आयात तथा निर्यात दुवैको क्षेत्रमा भारत नेपालको सबैभन्दा ठूलो व्यापार तथा लगानी साझेदारको रुपमा रहेको छ।
वास्तवमा भारत नेपालको एक मात्र त्यस्तो व्यापार साझेदार मुलुक हो जससँग पछिल्लोे दुई तीन वर्षमा नेपाली निर्यातमा लगातार वृद्धि भएको छ। सोमबारको बैठकमा भएको विस्तृत छलफल र प्रगतिले भारत र नेपालबीचको आर्थिक तथा वाणिज्य सम्बन्धलाई विस्तार गर्न थप सघाउ पुर्याउने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।