काठमाडौं– साफ यू–१८ च्याम्पियनसिपको विजेताको टुंगो बुधबार लाग्दै छ । बुधबार भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा अपराह्न पौने ३ बजे भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ । बुधबार साँझ पौने ७ बजे नेपालले भारतको सामना गर्नेछ । यी २ खेलको नतिजापछि विजेताको टुंगो लाग्नेछ।
सुरुवाती तीन खेलमा २–२ जित निकालेका नेपाल, भारत, बंगलादेश र भुटान उपाधि होडमा छन् । ६–६ अंक जोडेका चारै टिमले १–१ मा हार बेहोरेका थिए । गोलअन्तरको आधारमा भारत पहिलो, बंगलादेश दोस्रो, नेपाल तेस्रो र भुटान चौथो स्थानमा छन् । भारतको ३, बंगलादेश र नेपालको २–२ गोलअन्तर छ भने भुटानको गोलअन्तर माइनस एक छ । चार टिमको समान अंक भएकाले उपाधि भिडन्त रोमाञ्चक बनेको छ । राउन्ड रोबिनको आधारमा जारी प्रतियोगिताको बढी अंक जोड्ने टिम च्याम्पियन बन्नेछ।
बुधबार जित निकाल्ने २ टिमको उपाधि जित्ने सम्भावना हुनेछ । तर, च्याम्पियन बन्न जित निकाल्ने टिमले अर्को खेलको नतिजामा भर पर्नुपर्छ । पराजित हुने टिमको उपाधि यात्रा सकिनेछ।
नेपालसहित चार टिमका लागि च्याम्पियन बन्न तीन खेलको नतिजामा भर पर्नुपर्नेछ । नेपाल च्याम्पियन बन्न निम्न नतिजा आउनुपर्ने हुन्छ:
१. बंगलादेशले भुटानलाई हराएमा– भारतलाई हराउन सके नेपाल च्याम्पियन बन्नेछ।
२. भुटान र बंगलादेशले बराबरी खेलेमा – भारतलाई हराए नेपाल च्याम्पियन बन्नेछ।
३. भुटान र बंगलादेशको बराबरी तथा अर्को खेलमा नेपाल र भारत बराबरी भएमा – हेड टु हेड र गोलअन्तरको आधारमा विजेताको टुंगो लाग्नेछ । यो अवस्थामा नेपालले बढी गोल गरेमा च्याम्पियन बन्नेछ।
यीबाहेक हेड टु हेडको अाधारमा भुटानको नतिजामा पनि नेपाल भर पर्नु पर्नेछ। भुटानले खेल जितेमा नेपाल विजयी भएपनि हेड टु हेडमा पछि पर्नेछ।
प्रतियोगिताको साविक विजेता भएकाले नेपाललाई उपाधि रक्षा गर्ने चुनौती छ । पहिलो खेलमा आयोजक भुटानसँग पराजित भएको नेपालले दोस्रो खेलमा माल्दिभ्स तथा तेस्रो खेलमा बंगलादेशलाई हराएर उपाधि रक्षा गर्ने सम्भावना जीवितै राखेको थियो।
दुई वर्षअघि नेपालमै आयोजना भएको साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा नेपालले भारतलाई हराएर उपाधि जितेको थियो । यस पटकदेखि प्रतियोगिता यू–१८ उमेरसमूहमा गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।