सिमकोट–उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ। यही मंसिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो। उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट टेसिङका क्रममा स्वाव सङ्कलन गरी १२ जना सुरक्षाकर्मीको पिसीआर परीक्षण गरिएको थियो।
मंसिर १९ गते स्वाव सङ्कलन गरी पिसीआर परीक्षणका लागि सुर्खेत पठाइएकामध्ये ११ जनामा कोरोना देखिएको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए। योसँगै हुम्लामा कोरोना संक्रमितको कुल संख्या ७८ पुगेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ११ रहेको छ भने ६७ जना निको भइसकेका छन् ।
हुम्लामा केही दिन अगाडि मात्रै सदरमुकाम सिमकोटदेखि उत्तरतिर पर्ने नाम्खा गाउँपालिकाको केन्द्र यालवाङमा ५६ जनामा कोरोना पुष्टि भएपछि जिल्लामा सञ्चालन गरिएका विद्यालहरु पुनः बन्द गरिएको छ । स्थानीय तहले विद्यालय पुनः सञ्चालन गर्ने तयारी गरिरहेका बेला सदरमुकाम सिमकोटमा संक्रमणको जोखिम बढेकाले विद्यालय सञ्चालनमा अन्योल छाएको छ । रासस
आइतबार सङ्क्रमण पुष्टि भएका ११ जना सिमकोट विमानस्थलमा रहेको सुरक्षा गार्ड क्वार्टरको होमआइसोलेसनमा बसेको जिल्ला अस्पताल हुम्लाका वरिष्ठ अनमी सरिता बोहराले बताउनुभयो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।