काठमाडौं– राजसंस्थाको प्रखर वकालत गर्दै आएको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी गणतन्त्रको खारेजी माग गर्दै सडकमा ओर्लिएको छ।
बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार गरिएको प्रर्दशन गरिएको छ भने झापामा शनिबार शक्ति प्रर्दशन गरिएको छ। गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको खारेजीको माग गर्दै शनिबार काठमाडौं र झापामा प्रर्दशन गरिएको छ।
शुक्रबार र शनिबार भएको प्रर्दशनलाई कमल थापा निकटका नेताहरुले अगुवाई गरेका छन्। झापाका विभिन्न स्थानबाट निकालिएको मोटरसाइकल र्याली काकडभिट्टामा एकत्रित भएको थियो। मोटरसाइकल र्याली विर्तामोडमा पुगेर कोणसभामा टुंगिएको थियो। झापा-३ बाट निर्वाचित राप्रपा नेता राजेन्द्र लिङ्देनले प्रर्दशनको नेतृत्व गरेका थिए।
कोण सभामा बोल्दै लिङ्देनले राजसंस्थाको पक्षमा निकालिएको र्याली ‘कास्टिङ’ मात्रै भएको बताए। गणतन्त्र असफल भएको निष्कर्ष निकाल्दै लिङ्देनले भने, ‘उच्च तहमा रहेका नेता र कर्मचारीको सम्पत्ति छानबिन होस्।’ शासन प्रणालीको समग्र सुधार गर्नुपर्ने उनको भनाई थियो। राजसंस्था, हिन्दूराष्ट्र र संघीयता खारेजीको माग गर्दै भएको प्रर्दशन गणतन्त्र पछिकै ठूलो भएको बताइएको छ।
काठमाडौंमा राष्ट्रिय नागरिक आन्दोलनको ब्यानरमा र्याली निकालिएको छ। काठमाडौंमा भएको र्यालीमा पनि राजसंस्था पुर्नबहालीको माग गरिएको छ। पृथ्वीनारायण शाहको तस्बिरलाई महत्वका साथ बोकेका प्रर्दशनकारीले वर्तमान व्यवस्थाविरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएको भएर नयाँ बानेश्वर पुगेको थियो।
यसअघि शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडामा संघीयता, धर्म निरपेक्षता र गणतन्त्रविरुद्धको र्यालीमा राप्रपा अध्यक्ष थापा निकटका कार्यकर्ताको वाहुल्यता रहेको बताइएको छ।
थापाको गृहजिल्ला मकवानपुर र सांसद लिङ्देनको जिल्ला झापालाई महत्व दिएर प्रर्दशन गरिएको छ। 'राजसंस्थासहितको प्रजातन्त्र कायम गरौं', 'संघीयता खारेज गर', 'सनातन हिन्दू धर्म राष्ट्र कायम गरौं' जस्ता नारा शुक्रबार हैटौँडामा लगाएका थिए।
राप्रपा पार्टी कार्यालय हेटौंडाबाट सुरु भएको मोटरसाइकल र्याली शितलमहल चोक-सिमा चोक-बसपार्क-जिल्ला प्रहरी कार्यालय हुँदै सभा गरी सकिएको थियो।
पछिल्लो समय राजावादी संस्थाको नाममा वर्तमान व्यवस्थाविरुद्ध विभिन्न समूहले प्रर्दशन गर्दै आएका छन्। विभिन्न समूहले यसअघि बुटवल काठमाडौँ, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी, जनकपुर, विराटनगरलगायत स्थानमा पनि प्रर्दशन गरेका थिए।
पोखराको प्रदर्शनमा ‘पश्चिमाञ्चलवासी नेपाली जनता’ नामक संस्थाले अगुवाई गरेको थियो भने जनकपुरको प्रदर्शनमा ‘नेपाल राष्ट्रवादी समूह’ले आयोजना गरेको थियो।
मंसिर ४ मा धनगढीमा ‘स्वतन्त्र देशभक्त नागरिक सुदूरपश्चिम’ व्यानरमा मोटरसाइकल र्याली निकालिएको थियो। हालसम्म राजसंस्थाको पक्षमा भएका प्रर्दशनमा आधा दर्जन बढी संस्थाको अगुवाई देखिएको छ। उस्तै माग राखेर फरक फरक समूहको व्यानरमा प्रर्दशन भएको छ। ‘वीर गोर्खाली र स्वतन्त्र राष्ट्रवादी अभियान’को ब्यानरमा पनि प्रर्दशन भएको छ। काठमाडौंको जमलमा ‘राष्ट्रवादी नागरिक समाज’नामक राजावादी संस्थाले प्रर्दशन केही दिनअघि गरेको थियो।
राजावादीको प्रर्दशनमा अन्य दलका नेता कार्यकर्ता पनि सहभागी भएका छन्। गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विपक्षमा रहेका अन्य दलका नेता कार्यकर्ता सहभागी भएका हुन्। केशरबहादुर विष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपालको प्रदर्शनमा नेविसंघका संस्थापक अध्यक्ष विपिन कोइराला सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।