खेल न कौडा
लगाई दाउ
धृतराष्ट्र हामी
बनेकै त छौँ नि!
अस्तित्व नै हरण गर न अब
दुशासनहरू साथमै त छन् नि!
नैतिकताले नपुगे पछि
चरित्र नै धरौटी राखेर खेल
विदुरहरू सब मूकदर्शक
शकुनीहरुकै चलखेल त छ नि!
रोगले मरून् या शोकले
निमुखा मर्नु विपत्तिले रे
सतरंजकै खेलमा
स्वामित्व गिर्यो
चुकाउने मूल्य
हामीले त हो नि!
रणभूमि पार्यौ शान्तिको कक्ष
मनमा हरि छैन तिम्रो
मैँ लाऊँ मैँ खाऊँ,
कठै दरिद्री,
आसक्त्तिको भण्डार तिम्रो
नभरिने भो नि!
मनोमानी गर
बोलीवचन फेर
मदमस्त भई कर्तव्य भुल
आफ्नै विध्वंस संरक्षण गर्ने
भीष्म भई हामी
उभिएकै छौ नि!
हडपी त सक्यौं
साम्राज्य सारा
कुन लोभले तिमीलाई
गाँजेको अझै
अति गर्नू तर अतिचार नगर्नू
यो युक्ति चाहिँ सुनेको छौ नि!
अझै नि भन्छौँ बुद्धि उघार
कुबुद्धिसहित व्यर्थ नबाँच
न नपार बाध्य
नमिठो बोल्न
मुखैमा आई बसेको छ नि!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।