काठमाडौं- स्वास्थ्य तथा जनसंख्याले कोरोना संक्रमणको नयाँ ‘हट स्पट’ पत्ता लगाई पुनः समुदायस्तरमा एन्टिजेन परीक्षण गर्ने भएको छ। यस पटक देशभरका हट स्पटमा एन्टिजेन विधिमार्फत परीक्षण गर्ने बताइएको छ।
यसै साता कोरोना भाइरस संक्रमित पत्ता लगाउन काठमाडौंमा समुदायस्तरमा एन्टिजेन परीक्षण गरिएको थियो।
मन्त्रालयले सोमबार र बुधबार काठमाडौं उपत्यकामा कोरोना हट स्पट मानिएका क्षेत्रका समुदायमा कोराना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिजेन विधिबाट परीक्षण गरेको थियो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सोमबार ७ सय २० जनाको परीक्षण गरिएकोमा ४३ जना र बुधबार ७ सय ८५ जनाको परीक्षण गर्दा ७२ जनाको रिपोर्ट पोजिटिभ आएको थियो।
यसरी ८ प्रतिशत अर्थात् ११५ जनाको पोजिटिभ आएको स्वास्थ्य महाशाखाले जनाएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले हाललाई एन्टिजेटको मासटेस्टिङ बन्द गरेको जानकारी दिए। उनले भने, ‘कति ठाउँमा गर्ने, कसरी गर्ने भनेर छलफल हुँदैछ। संक्रमणको नयाँ हट स्पट नयाँ कहाँ कहाँ छन्, देशभरका पालिकाहरुबाट खोजी गरी टेस्ट सुरु गर्नुपर्छ।’
उनले परीक्षण गरिएका नमुनाहरुको एनालाइसिस गरेर मात्र एन्टिजेन सुरु गर्ने स्पष्ट पारे। काठमाडौंको चाबहिल क्षेत्र, मित्रपार्क, विशालनगर, बालाजु बाइपास क्षेत्र, कुलेश्वर, कोटेश्वर लगायतका क्षेत्रमा नमुना संकलन गरिएको थियो।
कोरोना परीक्षण हुने ल्याबहरुमा भने पिसिआर र एन्टिजेट दुवै विधिबाट परीक्षण हुने गरेको छ। सरकारले कोरोनाको लक्षण भएका व्यक्ति दुवै विधिबाट परीक्षण निःशुल्क गरेको छ भने लक्षण नभएका व्यक्तिको लागि पिसिआर गर्न दुई हजार र एन्टिजेन टेस्ट गर्न एक हजार शुल्क तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।