काठमाडौं- बिहीबारबाट सुरु हुने तय भएको नेकपा स्थायी कमिटीको बैठक सर्न सक्ने संभावना बढेको नेकपाकै नेताहरूले बताउन थालेका छन्। सचिवालय बैठकमा दुई पक्षबीच विवाद यथावत् भएकाले मंसिर १८ गते बिहीबारबार सुरु हुने बैठक सर्न सक्ने विश्लेषण हुन थालेको हो।
सचिवालय बैठक निरन्तर जारी भएकाले स्थायी कमिटीको तयारी नपुग्ने भएकाले सर्न सक्ने आँकलन गरिएको छ। सचिवालय बैठकमा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ फरक-फरक प्रतिवेदन पेस गरेका छन्।
उक्त प्रतिवेदनलाई लिएर सचिवालयका ओली र प्रचण्ड पक्षगरी दुई भागमा विभाजित छन्। ओली पक्ष प्रचण्डको प्रतिवेदन फिर्ता लिई गत भदौ २६ गतेको स्थायी कमिटी निर्णयमा फर्किएर निकास निकाल्ने पक्षमा छ।
तर, प्रचण्ड पक्ष दुवै प्रतिवेदन स्थायी कमिटी हुदै केन्द्रीय कमिटीसम्म छलफल गरी निर्णयमा पुग्नुपर्ने अडानमा छ। सचिवालयमा दुवै पक्ष आ–आफ्नो अडानमा भएकाले स्थायी कमिटी बैठक सर्न सक्ने नेताहरुले बताएका छन्। तर, पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बुधबार बस्ने स्थायी कमिटी बैठकको सूचना यसअघि नै पठाइसकिएको बताए।
‘स्थायी कमिटी बैठक बस्ने निर्णय भए लगत्तै सबै स्थायी कमिटी सदस्यलाई सूचना पठायौँ,’ ढकालले भने, ‘फेरि अर्को सूचना पठाएका छैनौँ। अहिलेसम्मको तयारीअनुसार बैठक बस्छ।’
मंसिर ३ गते बसेको सचिवालय बैठकले बुधबारका लागि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक मंसिर २५ गतेका लागि बोलाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।