काठमाडौं–श्रीमतीलाई मार्ने उद्देश्यले तातो तेल खन्याउने धादिङका २४ वर्षीय अश्विन परियारलाई धादिङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।
जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको इजलाशले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश मंगलबार गरेको हो। घरायसी विवाद भएपछि अश्विनले नीलकण्ठ नगरपालिका–११ ज्यामरुङकी २० वर्षीया पुजा परियारलाई अनुहार तथा शरीरमा तातो तेल खन्याएर मार्न खोजेका थिए। घटनालगत्तै फरार भएका उनलाई प्रहरीले पक्राउ गरेर अदालत पेश गरेको थियो।
घरमा बसिरहेका बेला तातो तेल खन्याएपछि पुजा सख्त घाइते भएकी थिइन्। पुजाको टाउको, ढाड, घाँटी, गोडा र हातमा पोलेको थियो। घाइते कीर्तिपुर मोडेल अस्पतालमा उपचारपछि धादिङ फर्किएकी छन्। आरोपितविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्धा दर्ता गरेको थियो। जिल्ला अदालतले पुजाकी सासु सीता परियार र र ससुरा सुजन परियारलाई जनही १ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको छ।
श्रीमतीको अश्लील फोटो देखेपछि तेल खन्याए
अश्विनले जिल्ला अदालत र प्रहरीमा दिएको बयानमा अपराध स्वीकार गरेका छन् । उनले घटना हुनुभन्दा नौ महिनादेखि काठमाडौको एक रिसोर्टमा कुकको काम गर्दै आएको र दसैं बिदामा आएका बेला विवाद हुँदा घटना भएको बयान दिएका छन्। ‘बुबा काठमाडौंमा काम गर्न जाने सहमति भएपछि म घरमै खेती गरेर बसेको अवस्थामा श्रीमतीको मोवाइलमा नाङ्गो भिडियो राखेको जानकारी पाएँ ’ उनले बयानमा भनेका छन्, ‘उक्त समयमा मैले काठमाडौ हुँदा आफूले नै पठाएको फोटोहरुमात्र होला भनेर गम्भीर रुपमा लिइन। श्रीमतीलाई यसबारेमा सोध्दा ठुलो स्वरले होइन भने पनि खोसेर हेर्दा नाङ्गो फोटोहरु देखेपछि पुरी पकाउन तताएको तातो तेल खन्याएको हुँ।’
कसुर गरेको स्वीकार गरेकाले उनको मुद्दा थुनामा पठाएर फास्टट्र्याक अदालतबाट सुनुवाइ थालिएको छ। जिल्ला अदालतले मंगलबार नै पीडितको बकपत्रसमेत गराएको छ। अब अर्को पेशीमा सरकारी साक्षी वुझेर प्रमाण उपलव्ध भएपछि जिल्ला अदालत फैसलाको चरणमा पुग्ने छ । मिश्री दर्जीको जाहेरीमा दर्ता भएको ज्यान मार्ने उद्योग मुद्दामा तीन अभियुक्तको बयानपछि पीडित र साक्षीको बकपत्र गराइएको हो । श्रीमान, सासु र ससुराको बयानपछि अदालतले पीडितको बकपत्र गराएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।