काठमाडौं- नेप्सेमा सूचीकृत कम्पनीमध्ये जम्मा ३७ कम्पनीमा भएको सुधारले नेप्से सूचक नै ३.३५ अंकले बढेको छ। १९७ वटा कम्पनीको कारोबार हुँदा १२८ वटा कम्पनीको मूल्यमा घट्ने र ७ कम्पनीको मूल्य यथावत् रहेपनि बाँकी कम्पनीको मूल्यमा आएको सुधारले बजारालाई बढाइरहेको हो।
लगानीकर्ताले वाणिज्य बैंकको सेयर मूल्यमा सुधार हुने अनुमान गरेका थिए। तर लगानीकर्ताले मंगलबार वाणिज्य बैंककै सेयर बिक्री गरेर अन्य कम्पनीका सेयर खरिद गरेका छन्। पोर्टफोलियो परिवर्तन गर्ने क्रममा उनिहरुको रोजाइमा सर्वसाधारण सेयर पुँजी कम भएका कम्पनी पर्दै आएका छन्। १५ अर्ब रुपैयाँको पूँजी भएको नेपाल टेलिकमको सर्वसाधारण सेयर जम्मा ८ प्रतिशतको हाराहारीमा मात्रै छ। त्यस्तै १२ प्रतिशत मात्रै सर्वसाधारण सेयर पुँजी भएको शिवम सिमेन्टको बजार मूल्यमा दिन दिनै सर्किट लागिरहेको छ।
त्यस्तै १० अर्ब रुपैयाँ पुँजी भएको नेपाल पुनर्बीमा कम्पनीको सेयर तीन हजार रुपैयाँ नाघ्ने हल्लाले मंगलबार बढ्ने क्रममा सर्किट लागेको छ। नेपाल विद्युत प्राधिरकणले प्रवर्द्धन गरेका अपर तामाकोशी, रसुवगढी र सान्जेन जलविद्युतको सेयर मूल्यमा सर्किट लागेको छ। १० अर्ब रुपैयाँको पुँजी भएको अपर तामाकोशीको सेयरमा सर्किट लाग्दा यसले पनि बजार सुधार हुन साथ दिएको छ।
यसरी केही ठुला कम्पनीमा भएको सुधारले मंगलबारको सेयर बजार सुधार भएको देखिएको हो। अर्को तर्फ घटेका कम्पनीको मूल्यमा पनि धेरै ठुलो गिरावट छैन। कतिपय लगानीकर्ताहरु बजार रातो देखियो भने केही किन्नु पर्छ भनेर पर्खिरहेका छन्। यस्तो अवस्थाले नाफा बुक हुँदा पनि दोस्रो बजार सुधार हुन मद्दत गरेको छ।
नाफा बुक गर्ने हाबी हुँदा दोस्रो बजारमा १३४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। थोरै मात्रै सुधारिएका बाणिज्य बैंकको सेयर बिक्री गर्न खोज्दा सेन्सेटिभ इन्डेक्स २.२० अंकले घटेको छ। नाफा बुक हुँदा पनि नेप्से सूचक मंगलबार शून्य दशमलव १७ प्रतिशतले बढ्दा दुइ हजार दशमलव ४० अंकमा पुगेर रोकिएको छ।
वाणिज्य बैंकको सूचक ४१ अंकले घटेको छ। त्यस्तै व्यापरको सूचक १०७ अंकले घटेको छ। जलविद्युत, उत्पादन तथा प्रसोधन, अन्य, माइक्रोफाइनान्स र जीवन बीमाको सूचकमा सुधार देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।