फाइल तस्बिर
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार रहेको बताएका छन्। योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना महामारीबाट नागरिकलाई बचाउन प्राथमिकताका साथ काम भइरहेको बताएका हुन्।
'महामारीबाट नागरिक बचाउन सके, विकास निर्माणपछि गरौँला। जनतालाई परेको समस्यामा तीनै तहका सरकार एकै ठाउँमा भएर सहयोगी बनेका छन्। आत्मबलले कोरोनासँग जित्न सकिन्छ,' उनले भने। कोरोनाका कारण मानवीय क्षति नहोस् भन्नेतर्फ सरकार केन्द्रित रहेको मन्त्री ढकालको भनाइ छ।
सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सबैको सल्लाहअनुसार आइसोलेसन स्थापना गरिएको बताइन्। नब्बे जनाको क्षमता रहेको सो आइसोलेसनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गए दुई सयजनासम्म राख्न सक्ने गरी व्यवस्था गरिने उनले जानकारी दिए।
सो अवसरमा महानगरका प्रवक्ता अरुण पीडित भण्डारी, चिकित्सालयका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, निर्देशक डा हेमराज कोइरालालगायतले धारणा राखेका थिए। आइसोलेसनमा हालसम्म ३६१ जनाले उपचारपछि घर फर्किएका छन् भने १६ जना उपचाररत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।