दाङ- दाङको इलाका प्रहरी कार्यालय तुलसीपुरको परिसरभित्र चालक बन्दीगृह निर्माण सुरु गरिएको छ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर नगर कमिटीले बन्दीगृह निर्माण गर्न लागेको हो। सुविधायुक्त एककोठे भवनको आज शिलान्यास गरिएको छ।
भवन निर्माण भएपछि दुर्घटना हुँदा प्रहरी हिरासतमा अन्य अभियुक्त जसरी चालक बस्नुपर्ने बाध्यताको अन्त्य हुने संगठनले जनाएको छ।
भवनको शिलान्यास गर्दै संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले प्रहरी संगठनभित्र चालक बन्दीगृह निर्माण गर्न लागेको यो दोस्रो पटक भएको बताए। यसअघि २०६८ मा धरानमा इलाका प्रहरी कार्यालयसँग समन्वय गरी यस्तो बन्दीगृह निर्माण गरिएको उनले जानकारी दिए।
संगठनले देशभर इलाका प्रहरी कार्यालयसँग समन्वय गरी चालक बन्दीगृह निर्माण गर्ने अभियान सञ्चालन गर्ने भएको छ। १० लाख रुपैयाँ लागत रहेको भवनको निर्माण दुई महिनामै पूरा गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।