भैरहवा- रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले शिक्षा क्षेत्रमा पारदर्शिता हुनुपर्ने बताएका छन्।
सोमबार शुद्धोधन गाउँपालिकाको आयोजनामा फर्साटिरमा आयोजित जनप्रतिनिधि र सामुदायिक विद्यालयका प्रधानाध्यापक एवं व्यवस्थापन समितिका अध्यक्षबीचको अन्तर्क्रियामा बोल्दै भुसालले संस्थागत र सामुदायिक विद्यालयबीचको खाडल घटाउन पहिला शिक्षा क्षेत्रको अपारदर्शितालाई हटाउनुपर्ने बताए।
‘एउटा सामान्य विद्यालयमा पनि पारदर्शिता हुँदैन, कसरी शिक्षा क्षेत्रलाई सुधार्न सकिन्छ?’, उनले प्रश्न गरे, ‘हाम्रो शिक्षा हामीले नै सुधार्ने हो, त्यसैले पारदर्शितासहित गुणस्तरीय शिक्षामा जोड दिऔं।’
उनले संविधानले शिक्षा क्षेत्रको अधिकार स्थानीय तहमा हस्तान्तरण गरेकाले अब पनि सामुदायिक विद्यालयको स्तरोन्नति हुँदैन कि भनेर आशंका गर्न नहुने बताए।
एमाले उपमहासचिव समेत रहेका भुसालले यस क्षेत्रको शैक्षिक गुणस्तर सुधार्न र प्राविधिक कक्षाहरु सञ्चालन गर्न आफूले पहल गर्ने बताए। उनले अबको शिक्षा प्रतिस्पर्धी हुनुपर्ने बताउँदै शिक्षकलाई तालिम, नयाँनयाँ प्रविधिको विकास, भौतिक संरचनाको पर्याप्त निर्माण गरी प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्न सक्नुपर्ने बताए।
यस्तै, कार्यक्रममा प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरीले गाउँपालिकाले विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाउँदै भौतिक संरचना निर्माणमा विशेष जोड दिनुपर्ने बताए।
उनले अझै थुप्रै सामुदायिक विद्यालयहरुको भवन जीर्ण, खानेपानी, शौचालय लगायतका संरचना नहुँदा विद्यार्थी समस्यामा परेको बताउँदै त्यसतर्फ ध्यान दिन गाउँपालिकालाई आग्रह गरे। उनले क्षेत्रको विकासका लागि स्थानीय सरकारसँग सहकार्य गरेर आफू अगाडि बढ्ने बताए।
अन्तर्क्रियामा बोल्दै गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीले स्थानीय सरकार गठन भएपछि आफूहरुले शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न चरणमा छलफल, अन्तरक्रिया, सुझाव संकलन लगायतका काम गरिरहेकाले सबैको सल्लाहमा विशेष योजना ल्याइने बताए। उनले विद्यालयका भौतिक संरचना निर्माण लगायतका समस्याप्रति आफूहरु जानकार रहेको बताउँदै अब विस्तारै समाधान गर्दै लैजाने बताए।
अन्तर्क्रियामा बोल्दै व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापक एवं शिक्षक-शिक्षिकाहरुले निजी विद्यालयसँग सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउन भौतिक संरचनासँगै निजीकै पाठ्यपुस्तक कार्यान्वयनमा ल्याउनुपर्ने बताएका थिए। उनीहरुले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएकोमा पनि चिन्ता व्यक्त गरेका थिए।
शुद्धोधन गाउँपालिकामा डेढ दर्जन सामुदायिक विद्यालय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।