काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सत्तासंघर्ष व्यवस्थापन गर्नकै लागि सत्तारुढ दल नेकपाले लामो समयसम्म संसद बन्द राखेको आरोप लगाएका छन्।
महामारीको समयमा पनि संसद बन्द गरेर सत्तारुढ दलले आफ्नो पार्टी भित्रको सत्ता संघर्षको खेललाई व्यवस्थित गर्न ध्यान दिएको आरोप उनले लगाउए। नेपाल सांस्कृतिक संघका पदाधिकारीसँगको अन्तर्क्रियामा महतले ५ महिना लामो लकडाउन र निषेधाज्ञा खुलेपनि आर्थिक र सामाजिक जीवन आफ्नो लयमा फर्किन नसकेको बताए।
सत्तारुढ दलले राज्यका संयन्त्रलाई प्रभावमा पारेर जनतालाई झुक्याइरहेको समेत उनको भनाइ छ। प्रतिपक्षी दल कांग्रेसले कोरोनाविरुद्ध सचेतना अभियान, प्रत्यक्ष कोभिड प्रभावितहरु आवाज सरकारसम्म पुर्याउने विषयलाई मुख्य प्राथमिकताका साथ उठाएपनि सरकारले आफ्नो कुरा सहज रुपमा नसुनेको उनले उल्लेख गरे।
संक्रमणको जोखिमका कारण बाहिर निस्किन सक्ने अवस्था नभएको फाइदा उठाउँदै सरकारले संसद बन्द गरी आफ्नो सुरक्षा कवचका रुपमा प्रयोग गरिरहेको आरोपसमेत लगाए।
कांग्रेसको कोभिड-१९ अनुगमन समितिका संयोजकसमेत रहेका महतसँग सांस्कृतिक संघका पदाधिकारीहरुले निश्चित मापदण्ड बनाएर चलचित्रसँग सम्बन्धित सम्पूर्ण गतिविधि खुला गर्न पहल गर्न आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।