बुटवल- प्रदेश ५ प्रदेशसभाको लोगो सोमबार सार्वजनिक गरिएको छ।
प्रदेशसभा सचिवालयले लोगो निर्माणका लागि सार्वजनिक रुपमा आह्वान गर्दा १२ जनाले आवेदन दिएकोमा दाङ तुलसीपुरका शिक्षक खगिश्वर भण्डारीले बनाएको लोगो उत्कृष्ट ठहर गरिएको हो।
एक कार्यक्रमको आयोजना गरी सभामुख पूर्णबहादुर घर्ती मगरले लोगो सार्वजनिक गरे। कार्यक्रममा प्रदेशसभा नियमावली तथा सदस्य विवरण र प्रदेशसभाको वेबसाइट पनि सार्वजनिक गरिएको थियो।
लोगोमा नेपालको राष्ट्रिय झन्डा, ७ हजार २ सय ४६ मिटर उचाइ रहेको प्रदेश ५ को सबैभन्दा अग्लो रुकुमको पुथा हिउँचुली, रोल्पाको जलजला पहाड, बुद्ध जन्मस्थल रुपन्देहीको लुम्बिनी, शान्तिदीप, महिला-पुरुषको समानता झल्कने गरी महिला-पुरुषले हात मिलाएको, पहाडको जौं र तराईको धानको बाला र परिवर्तनको संकेत रातो तारा रहेको छ।
यस्तै, प्रदेशसभा सचिवालयमा कार्यरत कर्मचारीका लागि पनि लोगो बनाइएको छ। सो लोगोमा पुथा हिमाल, गौतम बुद्ध, धान र जौंका बाला, १२ वटा लालीगुराँस रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।