काठमाडौं– विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) का कारण केही समय ओरालो लागेको घरजग्गा कारोबार पुरानै लयमा फर्कन थालेको छ।
भूमिसुधार तथा मालपोत कार्यालयको तथ्यांकले केही महिनादेखि घरजग्गा कारोबार फेरि पुरानै लयमा फर्कन सुरु गरेको देखाउँछ।
कात्तिक महिनामा २० दिन कारोबार हुँदा देशभरका भूमिसुधार तथा मालपोत कार्यालयहरुबाट घर÷जग्गा नामसारी, रोक्का, फुकुवा लगायत १ लाखभन्दा बढी कारोबार भएका छन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागकाअनुसार २० दिन अवधिमा १ लाख ४ हजार ९ सय २८ वटा घरजग्गा कारोबार भएका छन्। जसमध्ये ३६ हजार ६ सय ३८ लिखत पारित, १ हजार ८ सय ३३ नामसारी, ३६ हजार ६ सय ३८ रोक्का, २ हजार २ सय ६० संशोधन र १८ हजार १ सय १८ फुकुवा कारोबार भएको तथ्यांकले देखाउँछ ।
गत असोज महिनामा पनि १ लाख ७० हजार घरजग्गा कारोबार भएको विभागले जनाएको छ। यो कारोबार अनलाईन प्रणालीमा आबद्ध १ सय ८ मालपोत कार्यालयहरुको कारोबारमात्रै हो । विभागअन्तर्गत कुल १ सय २६ कार्यालय रहे पनि अनलाईन प्रणालीमा आबद्ध हुन नसकेका बाँकी १८ वटा मालपोत कार्यालयको कारोबार यसमा समावेश गरिएको छैन । यी कार्यालयहरुलाई पनि छिट्टै अनलाईन प्रणालीमा ल्याउने तयारी गरिएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।