शब्द
लेखिनै मान्दैन
बोली
आउनै मान्दैन
जहाँ
बलात्कार र हत्या
केवल खबर बनेर
चुपचाप हुन्छ
त्यहाँ कलम
कुनै कुरा कोर्नै मान्दैन
भन्छ
अब शस्त्र उठाऊ
आफ्नो शक्त्ति देखाऊ
लक्ष्मी र सरस्वती मात्र बनेर नबस
दुर्गा रूप धारेर आऊ।
शब्दको अर्थ नबुज्ने ज्ञानीहरूसँग
बोलीको मर्म नठम्याउने दानीहरूसँग
जीवनको भिख माग्न
हात जोडिन मान्दैन अब
बोली फोरिन मान्दैन अब।
शरीर चिथोरी रगत चुस्ने
नरपिसाचहरूलाई
दूधे बालकका चित्कारले
आफ्नो हवस् मेटाउने
महिषासुरहरुलाई
दुई खुट्टा टेकेर हिँडेको देख्न
यो आखाँले मान्दैन अब
सास फेर्दैछ रे भनेको सुन्न
यो कानले मान्दैन अब।
सहनशीलताको घडा नै
भरिदिएपछि
अस्तित्वको त्यान्द्रो नै
चुडालिदिएपछि
मर्यादाको रेखा नै
मेटाइदिएपछि
उग्रचण्डी बनेर
अवतरण नभई
यो लोकमा रम्न
यो मन मान्दैन अब।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।