काठमाडौं- भारतीय विदेश सचिव हर्षवर्द्धन शृंगलाले नेपाली कांग्रेसका नेताहरूसँग सामूहिक भेट गरेका छन्। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालगायतसँग भेट गरेका हुन्।
पूर्वप्रधानमन्त्री सुशील कोइरालाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराई पनि भेटमा सहभागी थिए। भारतीय सचिव शृंगलासँग शिष्टाचार भेटघाट भएको पुष्टि गर्दै भट्टराईले भेटघाट फलदायी भएको बताए।
'वार्ता भयो। राम्रो भयो। हामीहरूको तर्फबाट नेपाल-भारत सम्बन्धमा देखिएका समस्या समाधान गर्दै अघि बढ्नुपर्छ भन्ने कुरा भयो,' उनले भने, 'उहाँहरूले पनि हामी प्रतिबद्ध छौं भन्नुभयो। करिब २०-२५ मिनेट शिष्टाचार भेट भएको हो।'
बिहीबारै बिहान काठमाडौं आएका भारतीय विदेश सचिव शृंगलाले यसअघि नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए। सोभन्दा अघि दुई मुलुकका परराष्ट्र सचिवस्तरीय प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटमा राष्ट्रपतिले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्याउन सचिव शृंगलासँग आग्रह गरेकी थिइन्।
राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लान राष्ट्रपतिले आग्रह गरेको बताएका थिए।
शुक्रबार शृंगला स्वदेश फर्कने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।