गुल्मी- गुल्मीको रेसुंगा नगरपालिकाका सबै बैंक तथा वित्तीय संस्था ३ दिनका लागि बन्द हुने भएका छन्। कोरोना भाइरसको संक्रमण बढेको भन्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिने भएकाले मंसिर १० देखि १२ गतेसम्म सबै बैंक तथा वित्तीय संस्था बन्द गर्न लागिएको हो।
मंगलबार जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना जारी गर्दै स्वाब संकलन गर्ने कार्य भइरहेकाले बैंक बन्द गर्न लागिएको जानकारी गराएको छ। स्वाब संकलन गरिएका व्यक्ति र पिसिआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएका व्यक्तिहरूले घरमा नै सुरक्षित भएर आइसोलेसन बस्न समेत प्रशासनले सचेत गराएको छ।
प्रशासनको सूचनाको अटेर गरी स्वाब दिएका र पोजेटिभ रिपोर्ट आएकाहरू जथाभावी हिँडेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।