काठमाडौं– एक वर्षअघि मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप जितेको नेपाली फुटबल टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार पुरस्कृत गरेको छ।
गत नोभेम्बरको पहिलो साता भएको सोलिडारिटी कपको फाइनलमा मकाउलाई पराजित गर्दै नेपालले उपाधि जितेको थियो। लगत्तै एन्फाले नेपाली टिमलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो।
घोषित पुरस्कार एक वर्षपछि प्रदान गर्ने क्रममा एन्फाले मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा २३ खेलाडी र ५ अफिसियलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिएको हो।
सरकारले पनि नेपाली टिमलाई जनही ३ लाख दिने घोषणा गरेको थियो। सरकारले यसअघि नै पुरस्कार दिइसकेको छ।
पुरस्कार दिन ढिलाइ भएकोमा एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठले माफी मागेका छन्। 'पुरस्कार दिन ढिलाइ भएकोमा क्षमा माग्छु, आगामी दिनमा पनि तपाईंहरुले उत्कृष्ट खेल्नुहुन्छ भन्ने विश्वास छ,' श्रेष्ठले पुरस्कार वितरण समारोहमा भने।
एन्फाले यू–१६ टिमलाई पनि जनही ३० हजार रुपैयाँ प्रदान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।