काठमाडौं- चिनियाँ राजदूत होऊ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छिन्। भेटका लागि उनी बिहान ९ बजे प्रचण्ड निवास खुमलटार पुगेकी हुन्।
भेटमा यान्छीले चिनियाँ राजदूत सी चिनफिङको चौथो पुस्तक उपहार दिएकी प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए।
दुईबीच भएको छलफलका विषयमा भने जानकारी प्राप्त हुन सकेको छैन।
उनले मंसिर २ गते राति प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीसँग पनि भेट गरेकी थिइन्। भेटका लागि राति ८ बजे बालुवाटार पुगेकी यान्छी झन्डै दुई घण्टापछि बाहिरिएकी थिइन्। ओलीसँगको भेटमा भएका छलफलका विषय पनि सार्वजनिक भएका छैनन्।
नेकपाभित्रको विवाद चर्किएका बेला राजदूत यान्छी सक्रिय हुने गरेकी छिन्। गत वैशाखमा नेकपा विवाद उत्कर्षमा पुगेका बेला पनि उनले मुख्य नेताहरुसँग भेटेकी थिइन्। लगत्तै नेकपा विवाद साम्य भएको थियो। असारमा पनि विवाद चर्किएको बेला उनी सक्रिय भएकी थिइन्।
पछिल्लो पटक पनि नेकपाभित्र विवाद चर्किएको छ। गत कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले पेश गरेको १९ पृष्ठको प्रस्ताव नै पेश गरेका छन्। त्यहाँ उनले ओलीको कार्यशैलीको प्रशस्तै आलोचना गरेका छन्। सो प्रस्तावको प्रतिवाद गर्न ओलीले मंसिर ३ गतेको सचिवालय बैठकमा १० दिनको समय मागेका थिए। जसअनुसार अर्को बैठक मंसिर १३ का लागि तोकिएको छ।
ओलीले पनि प्रस्ताव ल्याए नेकपा विभाजनतिर जाने आँकलन भइरहेको छ। यस्तो अवस्थामा यान्छीले गर्ने भेटलाई अर्थपूर्ण ठानिएको छ। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गराउन चीनले उत्प्रेरक भूमिका खेलेको ठानिन्छ। त्यसैले नेकपा विभाजन हुन नदिन उसको सक्रियता बढेको आँकलन गरिन्छ।
चीनले नेकपा जुटाउन चलखेल गर्ने गरेको पूर्वराजदूत हिरण्यलाल श्रेष्ठको भनाइ छ। ‘यहाँ सबै शक्तिहरु सक्रिय छन्, फुटाउन र जुटाउन। चिनियाँ राजदूत जुटाउनलाई चलखेल गरेकी छिन्। अरुले फुटाउनलाई चलखेल गरेका छन्’, उनले केही दिनअघि नेपाल लाइभसँग भनेका थिए, ‘नफुट, तिम्रो देशको सार्वभौमिकता जोगाउन पनि एकता चाहिन्छ भन्नुलाई हस्तक्षेप भन्न मिल्दैन। जुधाउने र मिलाउनेलाई एउटै दर्जामा राख्न सकिन्छ?’
यी हुन् यान्छीका केही महत्त्वपूर्ण भेटहरुः
- पुस २५, २०७६: माधव नेपाल निवास कोटेश्वरमा शिष्टाचार भेट। नवनियुक्त राजदूत यान्छीद्वारा आफ्नो कार्यकालमा सहयोगको अपेक्षा।
- वैशाख १८, २०७७: प्रधानमन्त्री ओली र राजदूत यान्छीबीच भेट।
- वैशाख १९, २०७७: प्रचण्ड निवास खुमलटारमा भेट। झन्डै एक घण्टा कुराकानी।
- वैशाख १९, २०७७: माधव नेपाल निवास कोटेश्वरमा भेट।
- असार २१, २०७७: माधव नेपाल निवास कोटेश्वरमा भेट।
- असार २३, २०७७: झलनाथ खनाल निवास डल्लुमा भेट। करिब ४५ मिनेट कुराकानी।
- असार २५, २०७७: प्रचण्ड निवास खुमलटारमा भेट।
- मंसिर २, २०७७: बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग भेट। राति करिब ८ बजे बालुवाटार पुगेकी राजदूत यान्छिले दुई घण्टा त्यहाँ बिताएकी थिइन्।
- मंसिर ८, २०७७: खुमलटारमा प्रचण्डसँग भेट। भेटका लागि यान्छी बिहान ९ बजे नै खुमलटार पुगेकी थिइन्। उनले प्रचण्डलाई सी चिनफिङको पुस्तक उपहार पनि दिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।