डरको आलिसान महलभित्र
सानो कोठाको कुनामा
एउटा परिचित चेहेरा
नपाइने उत्तरको प्रतीक्षामा
आफ्नै प्रतिबिम्बलाई प्रश्न गर्दैछ
म को हुँ? अनि के हुँ?
लाग्छ ऊ भित्रभित्रै खोक्रिएको छ
अति सुन्दर र आकर्षक बाहिर देखिन्छ
हरेक प्रहर आफैँसँग गर्जन गर्छ
तर चिन्दैन आफ्नै कायालाई
अनि सोध्छ आफैँसँग
म को हुँ? अनि के हुँ?
विलीनतासँग आफ्नो अर्थ खोज्दै
कठोरता र क्रुरताले सुसज्जित
शताब्दीयौँदेखि आफ्नो राज्यभित्र
आफ्नै परिचय खोज्दै
आफैँसँग टहल्छ, अनि सोध्छ
म को हुँ? अनि के हुँ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।