काठमाडौं–दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये थोरै शेयर सप्लाइ भएका कम्पनीको शेयरलाई कर्नरिङ गर्दै केही लगानीकर्ताले दोस्रो बजार अप्राकृतिक रुपमा बढाउन थालेका छन्। केही समूह तथा ठूला लगानीकर्ताले कर्नरिङ गरेर बजार सुधार गर्दा पनि नियामक निकाय नेपाल धितोपत्र बोर्ड मूकदर्शक बनेर बसेको छ।
बजारमा धेरै गिरावट तथा तीव्र उछाल हुँदा नियामक निकाय सम्बेदनशील हुनुपर्छ। बजारलाई प्राकृतिक रुपमा अगाडि बढाउनु पर्नेमा यसभित्रका चलखेललाई भने निगरानी गर्न सकेको छैन।
कोभिड–१९ ले अर्थतन्त्र कमजोर बन्दा सूचीकृत कम्पनीको आम्दानी तथा नाफामा भारी गिरावट आइरहेको छ। तर नोक्सानमा गएका कम्पनीको शेयर मूल्यमा भने दिनदिनै सर्किट लागिरहेको छ। सूचीकृत तीन वटै होटल नोक्सानमा छन्। स्वदेशी तथा विदेशी पर्यटक आउन नसक्दा होटलले नोक्सान बेहोरिरहेका छन्। त्यस्तै साल्ट ट्रेडिङ, विशाल बजारजस्ता कम्पनीको मूल्यमा पनि अस्वाभाविक सुधार भइरहेको छ।
तर राम्रो नाफा गरेका तथा भोलिका दिनमा लाभांश वितरण गर्न सक्ने हैसियत भएका वाणिज्य तथा विकास बैंकको शेयर मूल्य घटिरहेका छन्। यसको प्रमुख कारण केही ठूला तथा संस्थागत लगानीकर्ताको कर्नरिङ भएको बजार विश्लेषक प्रकाश तिवारी बताउछन्। थोरै पुँजी भएका कम्पनीको शेयरमा कर्नरिङ गरेर दिनदिनै बजार बढाउने काम हुँदा पनि नियामक निकाय मूकदर्शक बनेर बसेको उनले आरोप लगाए।
सूचीकृत जुनसुकै कम्पनीमा अस्वाभाविक रुपमा उछाल आएपछि नियामक निकायले नजिकबाट नियाल्नु पर्ने हुन्छ। ती कम्पनीको शेयर मूल्य किन बढिरहेको छ, कसले चलखेल गरिरहेको छ भनेर नियामक निकायले अनुगमन गरेर रोक्नु पर्नेमा बजार सुधार भएको भन्दै रमाइरहेको विश्लेषकहरु बताउछन्।
अहिले दोस्रो बजारमा ठूला लगानीकर्तालाई एक–दुई अर्बको कम्पनीमा चलखेल गर्न खासै गाह्रो पर्दैन। केही ठूला लगानीकर्ता र सामूहिक लगानीकर्ता मिलेर यस्ता कम्पनीलाई सजिलै म्यानिपुलेट गर्न सक्छन्। बैंक वित्तीय संस्था तथा बिमाबाहेक अरु कम्पनीले निष्काशन गर्ने न्युनतम शेयरमा कुनै बाध्यात्मक व्यवस्था छैन। त्यसैले गर्दा पुँजी १०/२० प्रतिशतमात्रै सर्वसाधारणका लागि जारी गर्ने र त्यही थोरै शेयर पुँजीमा चलखेल गरेर बजार उचाल्ने काम पछिल्लो समय तीव्र गतिमा भइरहेको छ।
नेपाल धितोपत्र बोर्डले पछिल्लो समय उत्पादनमुलक कम्पनीलाई दोस्रो बजारमा आकर्षित गर्न चुक्ता पुँजीको १० प्रतिशतमात्रै भए पनि जारी गर्न सक्ने व्यवस्था गरेको छ। यसै व्यवस्थाअन्तर्गत पछिल्लो समय शिवम सिमेन्ट आयो। कम्पनीले १० प्रतिशतमात्रै शेयर जारी गरेकोले दोस्रो बजारमा थोरैमात्रै शेयर रहेको छ। त्यसमा पनि प्राथमिक शेयर खरिद गरेका अधिकांश लगानीकर्ताले बिक्री गरेका छैनन्। बजारमा थोरै मात्रै शेयर हुँदा खेलाडीलाई कर्नरिङ गर्न सजिलो भएको हो।
त्यस्तै दुई अर्बका जीवन बिमा कम्पनी, एक अर्बका निर्जीवन बिमा कम्पनी, २ देखि एक अर्बभित्रका माइक्रोफाइनान्सको शेयरमा कर्नरिङ गर्न ठूला लगानीकर्ता सफल भएका छन्। त्यसैले सबैभन्दा धेरै हिस्सा ओगटेको वाणिज्य बैंकको शेयर मूल्यमा खासै सुधार नहुँदा पनि तीन महिनाको अवधिमा शेयर बजार ४ सय अंकभन्दा धेरैले सुधार भइसकेको छ। जबकि वाणिज्य बैंकको सूचक जम्मा १४२ अंकले मात्रै सुधार भएको छ।
यस अवधिमा कुनै पनि कम्पनीको शेयर मूल्य बढ्नु पर्ने सद्धान्तिक कारण छैन। कोभिडका कारण कतिपय कम्पनी नोक्सानमा गएका छन्। कम्पनीहरुले लाभांश वितरणलाई प्राथमिकता दिएका छैनन्। उनीहरुको व्यापार व्यवसाय घटिरहेको छ। तर लामो समयदेखि बन्द विशाल बजारको शेयरमा दिन दिनै सर्किट लाग्नु पर्ने कुनै कारण नै छैन। एक वर्ष अगाडि एक हजारभन्दा कममा कारोबार भइरहेको साल्ट ट्रेडिङको शेयर मूल्य ७ हजार २०० रुपैयाँ पुग्नु पर्ने कुनै आधार नै छैन।
यसको प्रमुख कारण भनेको केही ठूला खेलाडी र संस्थागत लगानीकर्ताको कर्नरिङ नै हो। यसरी कर्नरिङ गरेर कम्पनीको मूल्य बढाउदा केही समय त लगानीकर्तालाई पोर्टफोलियो हेरेर आनन्द त आउछ। तर यस्ता कम्पनीले आफ्नो वास्तविक रुप देखाउन थाल्छन्। अनि २र४ प्रतिशतले कमाउछन् र ९५ प्रतिशतले गुमाउछन्। त्यस्ता कम्पनीको शेयर केही समूहले मिलेर उठाउछन्। शेयर उठाउन थाले पनि साना लगानीकर्ताहरु बढ्न थाल्यो भनेर किन्न थाल्छन्। तर यस अवधिमा ठूला लगानीकर्ताले सस्तोमा शेयर उठाइसकेका हुन्छन्। यही समुहले सामाजिक सञ्जाल फेसबुक, भाइबरमार्फत् हल्ला मच्चाउछन्। यही हल्लाको पछि लागेर नयाँ, सोझा, तथा केही बचत भएका लगानीकर्ताहरु किन्न थाल्छन्।
उनीहरुले महंगोमा बिक्री गरिसकेका हुन्छन्। बजार माथि पु¥याउन थोरै–थोरै गरेर आफैंले किन्ने र बेच्ने गरेर माथि पु¥याएका हुन्छन्। जब धेरैमा माग आउन थाल्छ, उनीहरु विस्तारै विस्तारै गरेर बाहिरिन थाल्छन्। यति भइसक्दा दुई चार प्रतिशतले अकुत कमाएर बाहिरिन्छन्। बाँकी लगानीकर्ता आत्तिएर बेच्न थाल्छन् र दिनदिनै गुमाउन पुग्छन्। यस्तो अवस्थामा ४र५ प्रतिशत बाठा लगानीकर्ताले मात्रै कमाउछन्, बाँकीले गुमाउछन्।
नियामक नियकाले मार्केट डेप्थमा गएर नियमित निगरानी मात्रै गर्ने हो भने पनि कर्नरिङ कसरी भइरहेको छ भनेर अनुगमन गर्न सक्छ। भर्चुअल अर्डरलाई मात्रै रोक्न सक्यो भने बजारमा अस्वाभाविक सुधार केही हदसम्म रोकिन्छ। केही ठूला लगानीकर्ताहरु मिलेर आफैले किन्ने, आफैले बेचेर मूल्य बढाइरहेका हुन्छन्। यस्तो काममा सामाजिक सञ्जाल बढी प्रयोग भइरहेको विश्लेषकहरु बताउछन्।
यस्तो अवस्थामा नियामक निकायले केहि नीतिहरु बनाउन सक्नु पर्ने विश्लेषक तिवारी बताउछन्। धितोपत्र बोर्डको सबैलाई १० कित्ता बाँड्ने पोलिसी नै गलत भएको उनी बताउछन्। प्राथमिक शेयर १० कित्ता बाँडफाँड गर्दा बजारमा सप्लाइ रोकिन्छ। प्राथमिक बजारका अधिकांश लगानीकर्ता दोस्रो बजारमा छैनन्। ५० प्रतिशतभन्दा धेरै प्राथमिक शेयरधनीले शेयर बिक्री गर्दैनन्। यसले गर्दा सप्लाइ कम हुन्छ। एउटै कम्पनीका लाखौ लगानीकर्ता हुन्छन्। त्यसैले गर्दा कर्नरिङ रोक्ने एउटा उपाय १० कित्ते प्रथा हटाउनु पर्ने तिवारीको सुझाव छ।
अर्कोतर्फ अहिलेसम्मको इतिहासमा ‘इन्साइड ट्रेडिङ’ को विषयलाई लिएर नेपाल धितोपत्र बोर्डले कारबाही गरेको एउटा पनि उदाहरण छैन। तर बजारमा यस्तो कारोबार धेरै हुन्छ। यसले पनि नियामक निकाय कमजोर रहेको पुष्टि गर्छ। नियामक निकाय कमजोर भएको ठाँउमा कर्नरिङ गर्नु कुनै ठुलो कुरा हुँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।