हुम्ला- हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकाको यालवाङस्थित एक छात्रावासमा कोरोना फैलिएपछि अहिले त्यसको स्रोतको खोजी सुरु भएको छ।
छात्रावासका ११ देखि १८ वर्षसम्मका ५४ जना बच्चा र उक्त क्षेत्रका दुई जनामा संक्रमण पुष्टि भएको थियो। एक्कासी यत्रो संख्यामा कोरोना संक्रमण पुष्टि भएपछि अहिले यसको स्रोत खोजि भइरहेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए। एउटै विद्यालयमा यत्रो संख्यामा कोरोना संक्रमित देखिएपछि अहिले जिल्लाभरि सबै शैक्षिक संस्था बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरेर विद्यालयहरु बन्द गरेको छ। यो चीनको तिब्बतसँग जोडिएको छ।
एउटा स्थानीय शिशुकक्षामा पढ्ने गरेका १९ जनासहित होस्टलमा बस्ने अधिकांश विद्यार्थीहरुमा संक्रमण पुष्टि भएको थियो।
उनका अनुसार विद्यार्थी र छात्रावास सञ्चालकसहित ५६ जनामा कोभिड–१९ पुष्टि भएको हो।
कसरी फैलियो एक्कासी कोरोना ?
कोरोना भाइरस देखिएका सबै बालबालिका हिमालयन चिल्ड्रेन सोसाइटीले सञ्चालन गर्दै आएको आवासीय छात्रावासमा बस्दै आएका बालबालिका भएको अध्यक्ष लामाले बताए।
‘हाम्रो प्रारम्भिक अनुमानमा तलबाट आएका विद्यार्थीबाटै संक्रमण तीव्र रुपमा फैलिएको हो‚’ अध्यक्ष लामाले भने‚ ‘त्यसअघि हुम्लामा विद्यालयमा वा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको थिएन।’
महाबौद्ध माध्यमिक विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाहरु बाजुरा, हुम्ला, डोल्पा, मुगु तथा काठमाडौका रहेका उनले बताए।
कतिपय विद्यार्थीहरू हवाईमार्गबाट आएको थिए भने कतिपय बाजुरा हुँदै पैदल आएका थिए। जहाजबाट आएकाको परीक्षण भएको तर हिँडेर आएकाको परीक्षण नहुदाँ संक्रमण फैलिएको अनुमान प्रारम्भिक रुपमा गरिएको छ तर यो सत्य नहुन सक्ने पनि उनको तर्क छ।
विद्यालयका सबै ५२५ जनामा एन्टीजेन प्रविधिबाट परीक्षण गर्दा ५६ जनामा पोजेटिभ देखिएपछि पशुपन्छी प्रयोगशाला सुर्खेतमा पुनः परीक्षण गरिएको थियो। शुरुमा चार जनाको परिक्षण गर्दा तीन जनाको पोजेटिभ आएको थियो। उक्त होस्टेलका दुई जनामा लक्षण देखिएपछि आफ्नै खर्चले हेलिकप्टरबाट काठमाडौं आएको अध्यक्ष लामाले बताए। उनीहरुको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।
कहिले खुलेका थिए विद्यालय
हुम्लामा अब हिउँ पर्ने सिजन सुरु हुने र विद्यालयहरु सञ्चालन गर्न नसकिने भएकाले परिक्षा सञ्चालनका लागि कार्तिक १४ गतेबाट विद्यालयहरू खुलेका थिए।
मङ्सिर महिनादेखि हिउँ पर्ने भएकाले पठनपाठन गर्न नसकिने भएकाले वार्षिक परीक्षा सकेर फागुनसम्म लागि विद्यालय बन्द गर्ने खोलिएको अध्यक्ष लामाले बताए।
के छ विद्यार्थीको अवस्था?
संक्रमित भएका विद्यार्थीहरुलाई दुई स्थानमा आइसोलेसन गरिएको अध्यक्ष लामाले जानकारी दिए। उनीहरु रहेको होस्टल र एउटा गुम्बामा राखेर उनीहरुको रेखदेख भइरहेको लामाले बताए। अहिले विद्यार्थीलाई टाउँको दुख्नेजस्ता सामान्य लक्षणहरु मात्र रहेकाले कुनै समस्या नभएको तर श्वास प्रश्वासमा समस्या भएमा भने अप्ठारो पर्न सक्ने बताए। अहिले उनीहरुको उचित निगरानी र स्वास्थ्य अवस्थाको परीक्षण र अन्य कार्य भइरहेको उनले बताए। जिल्ला स्वास्थ्य कार्यालय र नगरले मिलेर उनीहरुको अवस्था ख्याल गरिरहेको उनले बताए।
यसरी देखियो कोरोना संक्रमण
कार्तिक ३० गते एक जना र मङ्सिर १ गते अर्को एक गरी हिमालयन चिल्ड्रेन सोसाइटीका दुई सञ्चालकलाई श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना परीक्षण गरिएको थियो। उनीहरुको पोजेटिभ आएको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाडौ पठाइएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए। उनीहरुमा संक्रमण देखिएपछि विद्यार्थीमा परिक्षण गरिएको थियो। शुरुमा थोरै विद्यार्थीमा गरिएको र उनीहरुको पोजेटिभ आएपछि कन्ट्याक्ट ट्रेसिङ बढाउदै अन्यको परिक्षण गरिएको थियो। परिक्षणपछि नेगेटिभ आएको तर सम्र्पकमा भएका व्यक्तिलाई होम आइसोलेन र पोजेटिभ आएकालाई होस्टेल र गुम्बाको आइसोलेसनमा राखिएको लामाले बताए।
ठूलो सख्यामा संक्रमितहरू फेला परेपछि उनीहरूमा स्वास्थ्यसम्बन्धी समस्या देखिएमा गाउँपालिकामा अक्सिजन र आइसियू तथा भेन्टिलेटरको व्यवस्था नभएको हुनाले के गर्ने भनेर अधिकारीहरू चिन्तित देखिएका छन्।
गाउँपालिकामा एक्लैले केही गर्न नसक्ने भएकाले सबैको सहयोग आवश्यक रहेको अध्यक्ष लामाको भनाइ छ। सक्रमित विद्यार्थीहरू विभिन्न वडाका भएकाले उनीहरूको भेटेका मानसिको पहिचान गर्न स्वास्थ्यकर्मीहरूको एउटा टोली गाउँपालिकाले परिचालन गरेको छ। हालसम्म हुम्लामा एक जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।