काठमाडौं–एम्नेस्टी इन्टरनेसनल, वाटरएड र अन्तर्राष्ट्रिय दलित ऐक्यबद्धता सञ्जालले कोभिड–१९ महामारीको समयमा आफ्नो ज्यान जोखिममा राखी अग्रपंक्तिमा कार्यरत सरसफाइकर्मीहरूलाई सुरक्षित राख्नका लागि तत्काल कदम चाल्न भारत, बंगलादेश, नेपाल र पाकिस्तानका अधिकारीहरूलाई आग्रह गरेका छन्।
संयुक्त राष्ट्र संघले विश्व शौचालय दिवस मनाउँदै गरेको सन्दर्भमा उनीहरुले यस्तो आग्रह गरेका हुन्। दक्षिण एसियाभरि शौचालय र बाटो सफा गर्ने, चर्पीको खाडल खाली गर्ने र ढल मर्मत गर्ने श्रमिकहरूले स्वास्थ्य र सुरक्षासँग सम्बन्धित चर्को जोखिम भोगिरहेको उनीहरुको विज्ञप्तिमा उल्लेख छ।
उनीहरूले व्यक्तिगत सुरक्षात्मक उपकरण, जोखिमलाई सामना गर्ने तालिम, रोजगार सुरक्षा, सामाजिक सुरक्षा, स्वासथ्य बिमा र हातधुने सुविधामा पहुँच आदिको अभाव झेलिरहेका छन्। यी देशमा सरसफाइसम्बन्धी काममा देखिने जातीयताको आयामले गर्दा सरसफाइकर्मीहरूले अन्य पेशा अँगाल्न खोज्दा वा सुविधाहरू प्राप्त गर्ने क्रममा उच्च रूपमा लाञ्छित हुने वा विभेदको शिकार हुने गरेको विज्ञप्तिमा उल्लख छ।
वाटरएडद्वारा गरिएको नयाँ अनुसन्धानले भारत, पाकिस्तान, नेपाल र बंगलादेशमा कोभिड–१९ महामारीले गर्दा यी श्रमिकहरूको स्थिति अझै बढी नाजुक भएको देखाएको थियो।
कतिपय अवस्थामा काम गर्ने समयावधि बढाइएको र उक्त समयको पारिश्रमिक नदिइएको तथा कतिपय अवस्थामा उनीहरूले प्रदान गर्ने सेवाको मागमा पनि कमी आएको कारणले सफाइकर्मीहरूको आर्थिक सुरक्षा प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। लकडाउनका कारण उनीहरूको यातायात खर्च पनि बढेको र रोजगारदाताले मास्क र अन्य उपकरण उपलब्ध नगराएपछि धेरैले आफ्नै पैसाले यी सामग्रीहरू किन्नुपर्ने बाध्यता रहेको प्रतिवेदनमा उल्लेख छ।
‘सरसफाइकर्मीहरू महामारी अवधिभर दक्षिण एसियाका सहर र नगरहरूलाई गतिशील राख्ने लुकेका श्रमशक्तिका रूपमा देखिएका छन् ’ प्रतिवेदनमा भनिएको छ‘ तर उनीहरूले धेरै खराब र प्रायः आफ्नो ज्यानै जोखिममा रहेको अवस्थामा काम गरिरहेका छन् र उनीहरू जात र धर्मको आधारमा गरिने विभेद र लाञ्छनाको शिकार पनि बन्ने गरेका छन् ।’
वाटरएडको दक्षिण एसिया क्षेत्रीय एड्भोकेसी म्यानेजर वनिता सुनेजाले कोभिड–१९ र लकडाउनका कारण खासगरी अनौपचारिक रूपमा काम गरिरहेका यी सरसफाइकर्मीहरूमा यस्ता जोखिमहरू अझ गम्भीर भएको बताइन्। धेरैजसो महिला सफाइकर्मीहरू अनौपचारिक श्रमिकका रूपमा रहेका र उनीहरूले हरेक दिन आफ्नो ज्यान जोखिममा राखेर काम गरिरहेको उनले बताइन्। यी श्रमिकहरूको सुरक्षा र मर्यादा असमानुपातिक रूपमा प्रभावित भएको छ।
अन्तर्राष्ट्रिय दलित ऐक्यबद्धता सञ्जालले बिना कुनै सुरक्षा उपकरण ढल निकास वा बिना सुरक्षात्मक उपकरण सुख्खा शौचालय सफा गर्ने काम गर्न बाध्य पारिएका तल्लो जातका सफाइकर्मीहरूको दुरावस्थालाई उजागर गर्दै अभियानहरू चलाएको छ।
इन्टरनेसनल दलित ऐक्यबद्धता सञ्जालकी कार्यकारी निर्देशक मिना बर्मा सफाइकर्मीहरू लक्षित अनेक लाञ्छना र विभेदका घटना सन्दर्भहरू दक्षिण एसियाभरि नै हुने गरेको प्रतिवेदनहरू प्राप्त भएको बताउछिन्। अधिकांशजसो दलित समुदायबाट प्रतिनिधित्व गर्ने करिब ५० लाख सफाइ श्रमिकहरू हातैले ढल, नल र मानव मल तथा, सेप्टिक ट्याकी आदि सफा गर्न बाध्य रहेको प्रतिवेदनमा उल्लेख छ । सरकारहरूले यी अत्यावश्यकीय श्रमिकहरूको योगदानलाई स्वीकार्नुपर्ने र उनीहरूको अधिकार संरक्षण गर्नुका साथै सुरक्षाको ख्याल गर्नु पर्ने एम्नेस्टीले बताएको छ।
एम्नेस्टी इन्टरनेसनलका महासचिवको कार्यालयका निर्देशक डेभिड ग्रिफिथ्सले जन्मकै आधारमा कसैलाई मानव मलमूत्र हातैले सफा गर्ने र ओसारपसार गर्ने परम्परागत कार्य गर्नमा बाध्य बनाइने चलन अत्य हुनुपर्ने बताए।
बंगलादेश, भारत, नेपाल र पाकिस्तानका सरकार र स्थानीय अधिकारीहरूलाई निम्न कुरा गम्भीरताका साथ तत्काल व्यवस्था गर्न एम्नेस्टी इन्टरनेसनल, वाटरएड र अन्तर्राष्ट्रिय दलित ऐक्यबद्धता सञ्जाल आह्वान गरेका छन् ।
– कोभिड महामारीको बढ्दो जोखिम सामना गर्न सफाइ श्रमिकहरूलाई आवश्यक सहयोग तत्काल उपलब्ध गराउने र सुरक्षाका उपायहरू कार्यान्वयन गर्ने। जस्तै व्यक्तिगत सुरक्षा सामग्रीको नियमित आपूर्ति, कोभिड–१९ सम्बन्धी जोखिमका बारे पर्याप्त प्रशिक्षण, स्वास्थ्य बिमा, सामाजिक सुरक्षा र काम गरेको घण्टा र जोखिमअनुसारको आर्थिक क्षतिपूर्ति प्रदान गर्ने। अनौपचारिक रूपमा श्रम गर्नेहरू र सरकारका माध्यमबाट काममा लगाइएकाहरू सरकारका यस्ता उपायहरूबाट लाभान्वित हुनबाट वञ्चित नभएको सुनिश्चित गर्ने ।
–दुर्व्यवहार, विभेद र कार्यस्थलमा हुने हिंसाका अन्य स्वरुपहरूबाट सबै श्रमिक र अझ विशेषगरी महिला श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्ने।
–सफाइ श्रमिकहरूले नियमित रूपमा स्वास्थ्य जाँच तथा पहुँचयोग्य र सुलभ स्वास्थ्य सेवाहमा पहुँच प्राप्त गरेको सुनिश्चित गर्ने । पैसा तिर्न नसक्ने अवस्थाका कारण उनीहरूले स्वास्थ्य सेवा र उपचार प्राप्त गर्नमा कुनै अवरोध झेल्नु हुँदैन।
–आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धअन्तर्गतको दायित्वअनुरुप सफाइ श्रमिकहरूका लागि काम गर्ने उचित र अनुकूल अवस्था सुनिश्चित गर्न नीति र नियमहरू तर्जुमा गर्ने । यी नीति र नियमहरूको पर्याप्त कार्यान्वयनका लागि प्रभावकारी श्रम निरीक्षणलगायत वित्त पोषण, कार्यान्वयन र जवाफदेहिता संयन्त्रहरूको व्यवस्था गर्ने ।
–सुरक्षा उपायहरूलाई अनुसरण र पालना नगरेकोमा स्थानीय प्रशासनका साथै ठेकेदार र सहठेकेदारहरूलाई उत्तरदायी बनाउने ।
–सफाइ श्रमिकहरूलाई कार्यस्थल र समुदायमा संक्रमणबाट संरक्षण गर्न पर्याप्त पानी, सरसफाइ र स्वच्छतामा पहुँच प्राप्त भएको सुनिश्चित गर्ने ।
–जबर्जस्तीपूर्ण र जोखिमयुक्त श्रम अवस्थालाई सुदृढ बनाउने जात, लिङ्ग र धर्मका आधारमा गरिने विभेदलाई संबोधन गर्नका लागि आवश्यक कार्य गर्ने र हातैले मानव मलमूत्र सफा गर्ने गैरकानुनी अभ्यासको अन्त्य गर्नका लागि कानुनको कार्यान्वयन गर्ने र श्रमिकहरूलाई पुनस्थापना गर्ने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।