काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको सचिवालय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रस्ताव रातारात कोही आएर मिलाइदिँदैमा नसकिने बताएका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै नेता थापाले यस्तो बताएका हुन्।
'कोही आएर रातारात मिलाइदिँदैमा अनि एक भयौँ भनेर हात मिलाउँदैमा, आत्मालोचना गर्दैमा अनि प्रस्ताव फिर्ता लिँदैमा सकिने विषय होइनन्, सकिँदैनन्। यस्ता विषय बैठकमा मन पखालेर पखालिँदैन, अव बिर्सौँ भनेर बिर्सिइँदैन। यी सार्वजनिक चासो र राष्ट्रिय सरोकारका विषय हुन्। यी विषयको उत्तर आरोपीले दिनुपर्छ, आरोप लगाउनेले दिनुपर्छ, प्रधानमन्त्रीले दिनुपर्छ, नेकपाले दिनुपर्छ,' उनको विज्ञप्तिमा भनिएको छ।
यसका साथै नेकपाको आन्तरिक शक्तिसङ्घर्ष र कलहबीच विदेशी गुप्तचर प्रमुखसँगको प्रधानमन्त्रीको भेटको विषय अनि नेकपाका नेताहरूले चिनिया राजदूतसँग गरेको अस्वाभाविक भेटघाट समेतका बारेमा प्रधानमन्त्री र सिङ्गो नेकपाले उत्तर दिनुपर्ने उनको भनाइ छ।
दुई अध्यक्षलाई दुई पाइलट उल्लेख गर्दै नेता थापाले गोप्य कोठामा, बैठकमा, सामूहिक रूपमा औपचारिक, अनौपचारिक ढङ्गले के-कस्ता सहमति र सौदाबाजी भए र ती कसले पालना गरे, कसले गरेनन् त्यो पनि पार्टीकै आन्तरिक चासोका विषय भएकाले गुटबन्दी, षड्यन्त्र, विभाजन गर्न खोजेको र नेकपाको असली आमा को हुन् भनी छुट्याउन जिम्मा नेकपाका नेताहरूको भएको उल्लेख गर्दै उनले भ्रष्टाचारलगायतका विषयमा भने सरकार र नेकपाले उत्तर दिनुपर्ने उनको माग छ।
गत शुक्रबार नेकपा सचिवालयको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए। प्रस्तावमा सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेकोलगायतका आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।