काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पूर्वनिर्धारित कार्यक्रम अनुसार बस्ने भएको छ। गत शुक्रबार बसेको सचिवालय बैठकले बुधबार (आज) दिउँसो १ बजेका लागि बैठकको समय निर्धारण गरेको थियो।
‘हामो पार्टीको केन्द्रीय सचिवालयको बैठक पूर्वनिर्धारित कार्यकम अनुसार आज अपरान्ह १ बजे बालुवाटारमा बस्दैछ’, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्विटरमा लेखेका छन्।
सचिवालयको पूर्वनिर्धारित कार्यक्रमसँग जुधाएर प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठकबारे मंगलबार राति नै मन्त्रीहरुलाई जानकारी दिइएको थियो।
सचिवालय र मन्त्रिपरिषद् बैठक जुधेका कारण अन्याेल बढेको थियो। यसैबीच प्रवक्ताले पछिल्लो धारणा सार्वजनिक गरेका हुन्।
सचिवालयमा रहेका चार सदस्य मन्त्रिपरिषदमा पनि छन्। ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेलले दुवैतिर प्रतिनिधित्व गर्छन्। रोचकचाहिँ के छ भने, सचिवालय सदस्यहरु अहिले दुई पक्षमा रहेका छन् र मन्त्रिपरिषदमा रहेका सदस्यहरु एकतिर छन्।
यसअघि गत असारमा पनि उनले स्थायी कमिटी बैठक चल्दाचल्दै मन्त्रिपरिषद् बैठक डाकेर संसदको जारी अधिवेशन अन्त्य गरिदिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।