काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठकबारे मंगलबार राति नै जानकारी पाएको एक मन्त्रीले जानकारी दिए।
तर सोही समयमा नेकपा सचिवालयको बैठक पनि तोकिएको छ। सचिवालयमा रहेका चार सदस्य मन्त्रिपरिषदमा पनि छन्। ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेलले दुवैतिर प्रतिनिधित्व गर्छन्। रोचकचाहिँ के छ भने, सचिवालय सदस्यहरु अहिले दुई पक्षमा रहेका छन् र मन्त्रिपरिषदमा रहेका सदस्यहरु एकतिर छन्।
बुधबार दिउँसो १ बजेका लागि सचिवालयको बैठक बस्ने भनेर गत कात्तिक २८ गतेको सचिवालयको बैठकले समय नै निर्धारण गरेको थियो। तर ओली पक्षले बुधबारको बैठक स्थगित गर्नुपर्ने र शीर्ष तहमा सहमति कायम भएपछि मात्रै अर्को बैठक बोलाउनुपर्ने भन्दै आएको थियो। तर प्रचण्डले बैठक स्थगित गर्न मानेका छैनन्। त्यसकारण सचिवालय बैठक स्थगित हुने सूचना सार्वजनिक भएको छैन। तर ओलीले बैठक जुधाइदिएका छन्।
यसअघि गत असारमा पनि उनले स्थायी कमिटी बैठक चल्दाचल्दै मन्त्रिपरिषद् बैठक डाकेर संसदको जारी अधिवेशन अन्त्य गरिदिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।