काठमाडौँ- नेकपा विवाद उत्कर्षमा पुगेका बेला बुधबारका लागि तोकिएको सचिवालय बैठक बस्नेबारे अन्योल सिर्जना भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहानै सचिवालय बैठक केही दिन सार्न अर्का अध्यक्ष पुष्पकमल दाहालसमक्ष प्रस्ताव गरिसकेका छन्। उनले महासचिव विष्णु पौडेललाई खुमलटारमा भेट्न पठाएर सचिवालय बैठक केही दिनका लागि सार्न प्रस्ताव गरेका हुन्।
सचिवालय बैठकमा अहिले खास एजेन्डाभन्दा पार्टीको विवाद झन बढाउने र आफूलाई दबाब दिने मात्र काम हुने आँकलन गरेका ओलीले उक्त प्रस्ताव अर्का अध्यक्ष दाहाललाई पठाएका हुन्। ओलीले दाहाल-नेपाल पक्षका शीर्ष नेतालाई भेटेर आफूलाई सहयोग गर्न भनेको तर उनीहरूले अस्वीकार गरेपछि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहाललाई सचिवालय बैठक केही दिन सार्न प्रस्ताव पठाएका थिए।
मंगलबार बिहान खुमलटारमा भएको छलफलमा महासचिवले जारी विवाद समाधानका लागि दुई अध्यक्ष फेरि छलफल गरेर निकास निकाल्नु पर्ने अनि मात्र सचिवालय बस्न उपयुक्त हुनुपर्ने सुझाव दिएका थिए। प्रधानमन्त्री ओली पनि सोही पक्षमा भएकाले सचिवालय बैठक केही समय पर सारेर संवाद प्रक्रियालाई तीव्र बनाउन ओली सहमत भएको कुरा महासचिव पौडेलले सुनाएका थिए।
पौडेलको कुरामा दाहालले असहमति जनाएका थिए। उनले एक्लाएक्लै छलफल भन्दा सचिवालय बैठकमा छलफल गर्न सकिने भनेका थिए। उनले एक्लाएक्लै छलफलले अब निकास नआउने अवस्थामा पुगेकाले सचिवालय बैठक राखी त्यहीँबाट सहमतिमा बैठक केही समय स्थगित गर्ने सकिने सन्देश प्रधानमन्त्रीलाई पठाएका थिए।
आफू अप्ठेरोमा पुगेकाले सहयोग याचना गर्दै ओलीले यसअघि पूर्वएमालेका नेताहरु माधव नेपाल र वामदेव गौतमसँग छुट्टाछु्ट्टै बालुवाटारमा छलफल गरेका थिए। उनीहरुले सचिवालय बैठक बस्नुपर्ने र दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन आफूहरुको साझा धारणा भएको भनेपछि ओलीले सचिवालय बैठक नराख्न जोडबल गरिरहेका हुन्।
आइतबारको भेटमा माधव नेपाल र वामदेव गौतमले पनि सचिवालय बैठक सार्ने वा दाहालको प्रतिवेदन फिर्ता लिने कुरा आफूहरूका लागि मान्य नहुने बताएका थिए। सचिवालयमा हाल नेपाल दाहाल पक्षका ५ ओली पक्षमा ४ जना रहेका छन्।
पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी दाहाल एकतिर छन् भने ओलीलाई विष्णु पौडेल र ईश्वर पोखेरेलले साथ दिएका छन्। रामबहादुर थापा बादल खुलेर ओलीको सर्मथन गरेका छैनन्। तर मन्त्री भएकाले उनले ओलीलाई समर्थन गर्न सक्ने देखिएको छ।
यसरी समीकरण हेर्दा दाहाल नेपाल पक्ष सचिवालयमा बहुमतमा रहेका छन्। बहुमत सदस्य भएकाले ओलीलाई समस्या पर्दै आएको छ। कोरोना महामारीको समयमा सत्तारुढ दलको आन्तरिक विवाद बढेकोले अलग हुने हो कि भन्ने आशंका आम कार्यकतामा बढेको छ।
सचिवालय बैठकमा अलग्गै प्रतिवेदनमाथि छलफल गर्नुपर्ने र उक्त छलफलले पार्टीभित्रको विवाद झन बल्झाउने देखिन्छ। दाहालको १९ पृष्ठ लामो प्रतिवेदनमा ओलीलाई भ्रष्टाचारीलाई संरक्षण गरेको, रअ प्रमुखसँग गैरकानुनी रुपमा भेट गरेको, पार्टीका एकतर्फी रुपमा अघि बढेकोलगायतका आरोप लगाइएको छ। प्रतिवेदनमा ओलीले एक पद छोडनुपर्ने भनिएको छ।
ओली पक्ष दाहालको प्रतिवेदनप्रति आक्रामक रूपमा प्रस्तुत भएको छ। ओलीलाई मात्र आलोचना गरेको र सचिवालयका बहुमत सदस्यले पेलेको बुझाई ओली पक्षको छ।
प्रधानमन्त्रीलाई पार्टीभित्रवाटै दवाव सिर्जना भईरहेकाले त्यसको असर संंघीय संसदमा पनि परेको छ। एक्कासी अन्त्य भएको संसदको अधिवेशन अवको एक महिनामा जसरी पनि बोलाउनुपर्ने छ। एउटा अधिवेशन र अर्को अधिवेशनको समय सीमा ६ महिना नाघ्न नहुने संविधानको प्रावधानका कारण तत्काल बोलाउनुपर्ने छ। संसद् बोलाएमा पार्टीभित्रको विवाद झन् चर्कने र प्रतिपक्ष लगायतका दलहरुले समेत संसदमा अप्ठ्यारो पार्ने भएकाले सरकार संसदको अधिवेशन राख्नबाट भागिरहेको थियो।
सभामुख अग्नि सापकोटा पूर्वमाओवादीको कोटामा नियुक्त भएकाले आफूहरुको गुटलाई समस्या हुने ओलीपक्षको बुझाइ छ। कोरोना महामारीमा सरकारले लाचारी प्रस्तुत गरेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका दलहरु विरोधमै रहेका छन्। पार्टीका साथै अन्य विरोधको स्वर धेरै सुन्नुपर्ने डरका कारण प्रधानमन्त्री संसद अधिवेशनअघि पार्टीभिको विवाद मिलाउने पक्षमा छन्।
बुधबार हुने भनिएको सचिवालय बैठक ओलीले नबोलाए पनि आफूहरु औपचारिक रुपमा बस्ने चेतावनी दाहाल-नेपाल पक्षले दिएका छन्। बिहानको भेटमा पनि दाहालले ओलीलाई त्यही सन्देश पठाएकाले सचिवालय वैठक बस्ने खुमलटार स्रोतले जनाएको छ। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि भोलिको बैठक बस्ने बताए। प्रधानमन्त्रीले नबोलाएमा बहमुत सदस्यहरुको औपचारिक बैठक बस्ने उनको तर्क थियो।
ओली पक्ष बालुवाटारमा रणनीति बनाउँदै
सचिवालय बैठक सार्ने प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अर्का अध्यक्ष पुष्पकमल दाहालले अस्वीकार गरेपछि भावी रणनीति तय गर्न दुवै समूहको बैठक बसिरहेको छ।
बुधबारका लागि बोलाइएको पार्टी सचिवालयको बैठकबारे आफूपक्षको रणनीति तय गर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री तथा पार्टी महासचिव विष्णु पौडेल बालुवाटारमा छलफलमा जुटेका हुन्। बिहान दाहाललाई भेटेर फर्केपछि महासचिव पौडेल बालुवाटार छिरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।